पर्सा, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि सभा सदस्य पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार हरि पन्त ले सहकारी पीडित बचतकर्ताको पक्षमा ठोस योजना अघि सारेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश दिँदै पन्तले भने, “हामी समस्या हैन, समाधान दिन्छौं।” उनले रास्वपाको सरकार बनेको सय दिनभित्रै ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गरिने र देशभरका सहकारीमा डुबेका आम सर्वसाधारण बचतकर्ताहरूको निक्षेप सरकारीस्तरबाटै फिर्ता गर्न सुरु गरिने जानकारी गराए।
पन्तका अनुसार सहकारी क्षेत्रमा देखिएको बेथिति र सर्वसाधारणको बचत डुबेको अवस्थाले हजारौं परिवार आर्थिक संकटमा परेका छन्। यस समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न कानुनी तथा संरचनागत सुधारसहित कोष स्थापना गरिने उनले स्पष्ट पारे।
उनले सरकारको प्राथमिकतामा सहकारी पीडितको रकम फिर्ता, वित्तीय अनुशासनको कडाइ र पारदर्शी नियमन व्यवस्था पर्ने उल्लेख गर्दै जनतालाई भरोसा दिलाएका छन्।
पर्सा–१ मा चुनावी अभियानलाई तीव्र बनाउँदै आएका पन्तले आर्थिक पारदर्शिता, सुशासन र नागरिकको प्रत्यक्ष सरोकारका मुद्दालाई मुख्य एजेन्डा बनाएका छन्।
रास्वपाको सरकार गठन भएमा सहकारी क्षेत्र सुधार र बचतकर्ताको हित सुनिश्चित गर्न निर्णायक कदम चालिने उनको दाबी छ।
