काठमाडौँ, फागुन ८। प्रधानमन्त्री सुशीला कार्कीले मुस्ताङ र कास्की जिल्लामा निर्वाचनको तयारीको अनुगमन गर्दै समग्र तयारी सन्तोषजनक, उत्कृष्ट तथा उत्साहप्रद रहेको बताउनुभएको छ।
प्रधानमन्त्री कार्कीले आज ती जिल्लाहरूको स्थलगत अवलोकन, निरीक्षण तथा सम्बन्धित अधिकारीहरूसँग छलफल गर्दै निर्वाचन व्यवस्थापन, सुरक्षा प्रबन्ध, मतदान केन्द्रको अवस्था तथा आवश्यक सामग्रीको उपलब्धताबारे जानकारी लिनुभएको थियो।
अनुगमनपछि प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै गण्डकी प्रदेश भरि निर्वाचनको तयारी प्रभावकारी रूपमा सम्पन्न भएको बताउनुभयो। उहाँले भन्नुभयो,
“समग्र गण्डकी प्रदेशको सबै तयारी सन्तोषजनक मात्र होइन, उत्कृष्ट र उत्साहप्रद छ। फागुन २१ गते एकै दिनमा स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न हुनेछ।”
उहाँले सबै मतदातालाई ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गर्दै लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सुरक्षा निकाय, निर्वाचन कर्मचारी तथा स्थानीय प्रशासनबीच प्रभावकारी समन्वय गरिएको सम्बन्धित निकायहरूले बताएका छन्। साथै, मतदान केन्द्रहरूमा आवश्यक जनशक्ति, सामग्री तथा सुरक्षा व्यवस्था पूर्ण रूपमा तयारी अवस्थामा रहेको जनाइएको छ।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई सफल, व्यवस्थित र शान्तिपूर्ण बनाउन सरकार, सुरक्षा निकाय तथा निर्वाचन आयोगले तीव्र तयारी गरिरहेका छन्।
