मधेश प्रदेश प्रहरी प्रमुखद्वारा पर्सामा निर्वाचन सुरक्षा सम्बन्धी नीति निर्देशन तथा अनुगमन

समाचार

वीरगंज, फागुन ८ । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोबिन्द थपलियाले पर्सा जिल्लाको भ्रमण गरी सुरक्षा सम्बन्धी नीति निर्देशन तथा अनुगमन गरेका छन्।

मिति २०८२ फागुन ८ गते पर्सा पुगेका डीआईजी थपलियाले जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका सुरक्षा निकायका प्रमुख तथा प्रहरी अधिकृतहरूसँग बैठक गरी निर्वाचन सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएका हुन्। उहाँले निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाउन, सम्भावित चुनौतीहरूको पहिचान गरी समयमै नियन्त्रण गर्न तथा आम नागरिकमा सुरक्षाको अनुभूति गराउने गरी प्रहरी परिचालन गर्न निर्देशन दिनुभयो।

डीआईजी थपलियाले निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीले पूर्ण तयारी अवस्थामा रहेको उल्लेख गर्दै कानुन विपरीत हुने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पार्नुभयो। साथै, निर्वाचन प्रक्रियामा संलग्न सबै निकायबीच समन्वय, सूचना आदानप्रदान तथा प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्नेमा उहाँले विशेष जोड दिनुभयो।

निर्देशन तथा अनुगमन कार्यक्रम सम्पन्न गरी डीआईजी थपलिया सोही दिन दिउँसो करिब १:०० बजे पर्साबाट प्रस्थान गर्नुभएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरीको यस किसिमको सक्रिय अनुगमन र निर्देशनले पर्सा जिल्लामा हुने प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित, व्यवस्थित र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *