चितवनमा ६ लाख २३ हजारभन्दा बढीका पटाकासहित दुई भारतीय नागरिक पक्राउ, ८० हजारभन्दा बढी थान पटाका बरामद

समाचार

चितवन ,१८ कार्तिक । चाडपर्वलाई लक्षित गरी प्रहरीले अवैध पटाका तथा विस्फोटक पदार्थ नियन्त्रण अभियानलाई तीव्रता दिएको छ। यसैक्रममा जिल्ला प्रहरी कार्यालय चितवन तथा मातहतका प्रहरी कार्यालयहरूले विभिन्न मितिमा सञ्चालन गरेको कारबाहीका क्रममा ६ लाख २३ हजार ४६५ रुपैयाँ बराबरका पटाकासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार भरतपुर महानगरपालिका–३ स्थित विभिन्न स्थानबाट गरिएको कारबाहीका क्रममा झिरझिरे, खुर्सानी, चक्र, रकेटलगायत विभिन्न प्रकारका जम्मा ८० हजार ३७२ थान पटाका बरामद गरिएको हो। बरामद पटाकाको अनुमानित बजार मूल्य ६ लाख २३ हजार ४६५ रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

यसैगरी, पक्राउ परेका व्यक्तिहरूको साथबाट १ लाख ७२ हजार ३०० रुपैयाँ नगदसमेत बरामद गरिएको छ।

पक्राउ पर्नेमा भारतको मोतिहारी निवासी ४१ वर्षीय सञ्जय साह तेली र २९ वर्षीय राज जैसवाल उर्फ कन्हैया कुमार रहेका छन्।

चाडपर्वको समयमा पटाकाजन्य विस्फोटक पदार्थको अवैध कारोबार, ओसारपसार तथा प्रयोगबाट हुन सक्ने आगलागी, दुर्घटना र मानवीय क्षति न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले निगरानी तथा नियन्त्रण अभियानलाई तीव्र बनाएको जनाएको छ।

पटाकाजन्य पदार्थसहित पक्राउ परेका दुवै जनामाथि विस्फोटक पदार्थसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

प्रहरीले चाडपर्वलाई सुरक्षित, मर्यादित र दुर्घटनारहित बनाउन अवैध पटाका तथा विस्फोटक पदार्थको कारोबार नगर्न र त्यस्ता गतिविधिबारे जानकारी भए प्रहरीलाई सूचना दिन सर्वसाधारणसँग आग्रह गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *