बारा, ५ कार्तिक ।
बारा जिल्लाको कलैया क्षेत्रमा एक बहुला (पागल) कुकुरको आतंक फैलिएपछि स्थानीयवासीमा त्रास फैलिएको छ। कालो र सेतो रङको सो कुकुरले मंगलबार दिनभर विभिन्न स्थानहरूमा आक्रमण गरी हालसम्म ५२ जना सर्वसाधारणलाई टोकेको प्रहरीले पुष्टि गरेको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार उक्त कुकुरले कलैया भरत चौकबाट सुरु गरी बसतपुर, घोगलरिया, बरेवा टोल, सिसहनिया लगायतका क्षेत्रमा मानिसहरूलाई टोक्दै दक्षिणतर्फ फरार भएको छ। स्थानीयले “भाग्दै टोक्दै…” गर्दै कुकुरले सडकभर आतंक मच्चाएको बताएका छन्।
घाइतेमध्ये केही जनाको उपचार प्रादेशिक अस्पताल कलैयामा भइरहेको छ भने केहीलाई थप उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रहरीका अनुसार सबै घाइतेहरूको अवस्था अहिले सामान्य रहेको छ।
घटनापछि प्रहरी टोलीले तत्काल खोजतलास सुरु गरेको थियो। जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता प्रहरी निरीक्षक खेम नेपालका अनुसार मङ्गलबार साँझ ४ बजे कुकुरको आतंकको सूचना पाउँदा साथ राति ११ बजेसम्म माइकिङ गर्दै खोजी गरिए पनि कुकुर फेला पार्न सकिएको छैन।
“सोधपुछपछि पुष्टि भयो कि सो कुकुर पाटो–पाङ्ग्रे प्रकारको, कालो र सेतो रङ्गको छ,” निरीक्षक नेपालले बताए।
उनका अनुसार कुकुर अझै नियन्त्रणमा नरहेको र देख्नेबित्तिकै नियन्त्रण गरी मार्ने आदेश जारी गरिएको छ।
प्रहरीले हाल सो क्षेत्रका बासिन्दालाई सतर्क रहन, घर बाहिर अनावश्यक ननिस्कन र संकास्पद कुकुर देखेमा तत्काल नजिकको प्रहरी कार्यालयलाई खबर गर्न आग्रह गरेको छ।
स्थानीयहरूमा अहिले समेत त्रास कायम रहेको र प्रहरी टोलीले लगातार खोजतलास जारी राखेको बताइएको छ।
