इटहरी, भदौ २८। सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार शुक्रबार बिहान करिब २:५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकल चालकसहित दुई जना गम्भीर घाइते भएका थिए।
दुर्घटनाको सूचना पाएलगत्तै प्रहरी चौकी बालग्राम, इलाका प्रहरी कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुवै घाइतेको उद्धार गरी बिहान ३:२३ बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान (घोपा) पठाएको थियो।
उपचारका क्रममा मोटरसाइकल चालक सुनसरीको इनरुवा नगरपालिका–३ निवासी २९ वर्षीय पारस थापाको बिहान ५:११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, मोटरसाइकलको पछाडि सवार इनरुवा नगरपालिका–३ निवासी ३४ वर्षीय सागर रेग्मीको उपचारकै क्रममा बिहान ४:५२ बजे मृत्यु भएको हो। रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत कर्मचारी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
