कुरीति र विकृतिविरुद्ध प्रहरीलाई तत्काल सूचना दिन एसपी भट्टराईको आग्रह

समाचार

वीरगञ्ज, भदौ २८। पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले समाजमा हुने घरेलु हिंसा, बालविवाह र लागुऔषध दुर्व्यसनलगायतका विकृति तथा कुरीतिविरुद्ध प्रहरी र नागरिकबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा ‘सामुदायिक प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत वीरगञ्ज महानगरपालिका–२० हरपतगन्जस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, अपौनीको प्राङ्गणमा शनिबार आयोजित ‘नागरिक–प्रहरी सहकार्य, सुरक्षित र कुरीतिमुक्त समाज’ अभियानअन्तर्गत जनचेतनामूलक कार्यक्रमलाई सम्बोधन गर्दै एसपी भट्टराईले कुरीति तथा सामाजिक अपराध नियन्त्रणमा नागरिकको सक्रिय भूमिका महत्वपूर्ण हुने बताए।

एसपी भट्टराईले घरेलु हिंसा, बालविवाह, लागुऔषध सेवन तथा ओसारपसारजस्ता गतिविधि समाजमा भइरहेको थाहा पाए तत्काल प्रहरीलाई सूचना दिन सर्वसाधारणसँग आग्रह गरे। यस्ता घटनालाई लुकाउने वा सहेर बस्ने प्रवृत्तिले समस्या झन् गम्भीर बन्ने भएकाले समयमै जानकारी गराएमा प्रहरीले आवश्यक कानुनी तथा सुरक्षात्मक कदम चाल्न सक्ने उनको भनाइ थियो।

उनले प्रहरी र नागरिकबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै सुरक्षित, सभ्य र कुरीतिमुक्त समाज निर्माण गर्न जिल्ला प्रहरी कार्यालय पर्सा प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा स्थानीय बासिन्दा, विद्यार्थी, शिक्षक तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रममा सामाजिक विकृति तथा अपराध न्यूनीकरण, लागुऔषधविरुद्धको अभियान, बालविवाह नियन्त्रण, घरेलु हिंसा रोकथाम तथा नागरिक–प्रहरी सम्बन्ध सुदृढीकरणका विषयमा जनचेतनामूलक जानकारी प्रदान गरिएको थियो।

प्रहरीले समुदायमा लुकेर रहेका सामाजिक विकृति र अपराधबारे नागरिकबाट प्राप्त सूचना अपराध नियन्त्रण तथा शान्ति–सुरक्षा कायम गर्न महत्वपूर्ण आधार बन्ने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *