बारा ,२२ असोज । बाराको निजगढ नगरपालिका–१२ रामथलीमा घरायसी विवादका क्रममा श्रीमानले कुटपिट गरेकी एक महिलाको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका श्रीमान्लाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार ५५ वर्षीय विजय मोक्तानले घरायसी विवादका क्रममा आफ्नी ४७ वर्षीया श्रीमती सुकुमाया मोक्तानलाई लहराको टुक्राले कुटपिट गरेका थिए। कुटपिटबाट सुकुमाया सामान्य घाइते भएपछि स्थानीय मेडिकलबाट चिकित्सकलाई घरमै बोलाएर जाँच तथा औषधि उपचार गराइएको थियो।
उपचारपछि सुकुमाया असोज २१ गते राति करिब ८ बजे खाना खाएर सुतेकी थिइन्। भोलिपल्ट बिहान करिब ४ बजे श्रीमान् विजयले उनलाई उठाउन खोज्दा नउठेपछि अवस्था असामान्य रहेको थाहा भएको थियो। त्यसपछि बिहान ६ः४० बजे घटनाबारे अस्थायी प्रहरी पोष्ट रतनपुरमा जानकारी गराइएको प्रहरीले जनाएको छ।
सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट रतनपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा तथा इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी सुकुमायाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, बारामा पठाएको जनाएको छ।
घटनापछि उनका श्रीमान् विजय मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको वास्तविक कारण तथा मृत्युको कारण पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
