३ करोड ३८ लाखभन्दा बढीको अनलाइन सट्टेबाजी र क्रिप्टो कारोबार, २२ वर्षीय महतो पक्राउ

समाचार

काठमाडौं ,२२ असोज । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा काठमाडौं प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–३२ बस्ने २२ वर्षीय बिक्की कुमार महतो रहेका छन्।

प्रहरीका अनुसार २०८३ असोज २१ गते साँझ करिब ५ बजे काठमाडौं महानगरपालिका–११ स्थित माइतीघर सडकखण्डमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा महतोलाई प्रहरी टोलीले फेला पारेको थियो। त्यसपछि सोधपुछ तथा चेकजाँच गर्दा उनी 1xBet र Mobcash Application मार्फत अनलाइन सट्टेबाजी (जुवा) गर्ने तथा गराउने गतिविधिमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा महतोले USDT लगायत अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को समेत कारोबार गर्दै आएको र हालसम्म रु. ३ करोड ३८ लाख ८ हजार ३ सय ५० रुपैयाँ ९१ पैसा (रु. ३,३८,०८,३५०.९१) भन्दा बढीको कारोबार गरेको प्रारम्भिक रूपमा खुल्न आएको प्रहरीको भनाइ छ।

प्रहरीले उनको साथबाट एक थान मोबाइल फोन समेत बरामद गरी नियन्त्रणमा लिएको छ।

महतोविरुद्ध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार तथा सट्टेबाजी गर्न नहुनेसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको छ। उनलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक तथा प्रवक्ता/सूचना अधिकारी दानबहादुर थापाले घटनाबारे जानकारी दिएका हुन्।

प्रहरीले अनलाइन प्लेटफर्ममार्फत हुने अवैध सट्टेबाजी, डिजिटल सम्पत्तिको गैरकानुनी कारोबार तथा त्यससँग जोडिएका आर्थिक गतिविधिमाथि निगरानी र अनुसन्धानलाई तीव्र बनाउँदै आएको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *