पर्सामा तस्करी नियन्त्रण अभियान तीव्र, १५ लाख २८ हजार बराबरका अवैध सामान भन्सार दाखिला

समाचार

वीरगंज ,२२ असोज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मोहन बहादुर क्षेत्रीको नेतृत्वमा पर्सामा सीमा सुरक्षा तथा तस्करी नियन्त्रण अभियानलाई थप तीव्र पारिएको छ। सीमा क्षेत्रमा हुने अवैध चोरी–पैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी तथा गस्तीलाई प्रभावकारी बनाउँदै भन्सार छली नेपाल भित्र्याइएका विभिन्न सामान नियन्त्रणमा लिएर भन्सार दाखिला गर्ने क्रमलाई निरन्तरता दिएको छ।

यसै क्रममा २०८३ असोज २२ गते पर्साका विभिन्न सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका कुल १५ लाख २८ हजार ४२० रुपैयाँ बराबरका विभिन्न सामान, मोटरसाइकल तथा तरकारी आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ।

सशस्त्र प्रहरीका अनुसार वीरगंज महानगरपालिका–१६ स्थित भुटनदेवी मन्दिर आसपासको सीमा क्षेत्रमा नं. १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ९ लाख २२ हजार ५०० रुपैयाँ बराबरको औषधि नियन्त्रणमा लिएको थियो। बरामद औषधि आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ।

त्यसैगरी, सोही क्षेत्र वीरगंज महानगरपालिका–१६ मा भारतबाट भन्सार छली दुई वटा मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याउँदै गरिएको अवस्थामा मोटरसाइकलसहित तरकारी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ। उक्त बरामद सामान तथा मोटरसाइकलको भन्सार मूल्य ३ लाख २ हजार ९६० रुपैयाँ रहेको छ। नियन्त्रणमा लिइएका सामान तथा सवारीसाधन पनि वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ।

यसैबीच, सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म वीरगंजबाट परिचालित टोलीले वीरगंज महानगरपालिका–१६ स्थित इनर्वा सीमा क्षेत्रमा भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा १ लाख ७७ हजार ८६० रुपैयाँ बराबरको कपडा तथा जुत्ता बरामद गरेको छ। बरामद सामान आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालय पर्सामा दाखिला गरिएको छ।

त्यस्तै, जगरनाथपुर गाउँपालिका–२ स्थित लक्ष्मीपुर चोकमा सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म भिखमपुरबाट खटिएको टोलीले भारतबाट भन्सार छली एउटा मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको १ लाख २५ हजार १०० रुपैयाँ बराबरको सामान तथा मोटरसाइकल नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएको उक्त सामान र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज क्षेत्रीका अनुसार सीमा क्षेत्रमा अवैध चोरी–पैठारी नियन्त्रणका लागि नियमित गस्ती, निगरानी तथा चेकजाँचलाई निरन्तरता दिइएको छ।

पर्सामा भारतसँग जोडिएको खुला सीमाको फाइदा उठाउँदै हुने अवैध चोरी–पैठारी नियन्त्रणलाई सशस्त्र प्रहरीले प्राथमिकतामा राखेको छ। सीमा क्षेत्रमा हुने गतिविधिमाथि निगरानी बढाउँदै अवैध रूपमा भन्सार छली नेपाल भित्र्याइएका सामान नियन्त्रणमा लिएर कानुनी प्रक्रियाअनुसार भन्सार कार्यालयमा बुझाउने कार्यलाई थप प्रभावकारी बनाइएको सशस्त्र प्रहरीले जनाएको छ।

एसपी मोहन बहादुर क्षेत्रीको कमान्डमा सशस्त्र प्रहरीले सीमा क्षेत्रमा परिचालित टोलीलाई सक्रिय बनाउँदै विभिन्न नाका तथा सीमा इलाकामा नियमित गस्ती र निगरानी बढाएपछि भन्सार छलीका सामान नियन्त्रणमा पर्ने क्रम बढेको छ। विशेषगरी वीरगंज–१६ इनर्वा, भुटनदेवी मन्दिर क्षेत्र तथा जगरनाथपुरको लक्ष्मीपुर चोकलगायतका सीमा क्षेत्रलाई केन्द्रित गरी सुरक्षा निगरानीलाई प्रभावकारी बनाइएको छ।

सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका सबै सामान तथा सवारीसाधनको आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ। सीमा अपराध तथा तस्करी नियन्त्रणका लागि आगामी दिनमा पनि अभियानलाई निरन्तरता दिइने जनाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *