सर्लाही, १ कात्तिक। सशस्त्र प्रहरी बल, नेपालले सर्लाहीको सीमावर्ती क्षेत्रमा अवैध रूपमा भारततर्फ लैजाँदै गरिएको जगदम्बा सिमेन्ट र ठूलो परिमाणमा एल्मुनियम सिल्ली बरामद गरेको छ। सशस्त्र प्रहरीको सक्रियतामा करिब १७ लाख १४ हजार रुपैयाँ बराबरका सामान ट्र्याक्टरको ट्रेलरसहित नियन्त्रणमा लिइएको हो।
सशस्त्र प्रहरी बल, नेपालअन्तर्गत बीओपी मधुवनीबाट खटिएको मोबाइल गस्ती टोलीले २०८३ असोज ३१ गते सर्लाही जिल्लाको बलरा नगरपालिका–५, भगवानपुरस्थित सीमावर्ती क्षेत्रमा गस्ती तथा निगरानी गर्ने क्रममा उक्त सामान बरामद गरेको हो।
प्रहरीका अनुसार नेपालबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरिएको अवस्थामा २० बोरा जगदम्बा सिमेन्ट, अन्दाजी दुई टन सेतो रङको एल्मुनियम सिल्ली तथा सामान ओसारपसारमा प्रयोग गरिएको ट्र्याक्टरको ट्रेलर नियन्त्रणमा लिइएको हो।
बरामद गरिएका सामान तथा ट्रेलरको कुल अनुमानित मूल्य १७ लाख १४ हजार रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।
सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार तथा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले उक्त सामान बरामद गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाएको छ।
सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले गस्ती तथा निगरानीलाई तीव्र बनाउँदै आएको छ। पछिल्लो बरामदगीले सीमावर्ती क्षेत्रमा अवैध रूपमा सामान ओसारपसार गर्ने गतिविधिमाथि निगरानी बढाउनुको आवश्यकता थप उजागर गरेको छ।
