झापा, कात्तिक १। झापाको भद्रपुर नगरपालिका–५ स्थित भद्रपुर बजारमा रहेको सूर्य प्लाई फ्याक्ट्रीमा लागेको आगो सशस्त्र प्रहरी बल, नेपालसहित विभिन्न सुरक्षा निकाय, दमकलकर्मी तथा स्थानीयवासीको संयुक्त प्रयासमा पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ।
मिति २०८३ कात्तिक १ गते फ्याक्ट्रीमा आगलागी भएपछि सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर भद्रपुरको टोली घटनास्थलमा खटिएको थियो। आगो नियन्त्रणका लागि अन्य सुरक्षा निकाय, भद्रपुर नगरपालिकाको दमकल, नगर प्रहरी तथा स्थानीयवासीसमेत परिचालित भएका थिए।
सबै पक्षको समन्वय, सक्रियता र संयुक्त प्रयासपछि आगो पूर्ण रूपमा नियन्त्रणमा लिन सफल भएको हो।
आगलागी नियन्त्रणमा सशस्त्र प्रहरी तथा अन्य सुरक्षा निकायको तत्काल परिचालन र स्थानीयवासीको सहयोगले महत्त्वपूर्ण भूमिका खेलेको छ।
आगलागीबाट भएको क्षतिको विवरण, आगलागीको कारण तथा मानवीय क्षतिबारे भने थप विवरण प्राप्त हुन बाँकी छ।
