काठमाडौं, भदौ २८। विपद्को संवेदनशील समयमा खोज, उद्धार तथा व्यवस्थापनमा खटिएका सुरक्षा निकाय तथा राष्ट्रसेवकहरूविरुद्ध सार्वजनिक नैतिकता र शिष्टाचारविपरीतका सामग्री सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण गरी घृणा–द्वेष फैलाएको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१२, सेयनी बार्कु घर भई काठमाडौंको टोखा नगरपालिका–८, बानियाटार बस्दै आएका २७ वर्षीय जनक परियार रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार परियारले विपद्का बेला खोज, उद्धार तथा व्यवस्थापनमा अहोरात्र खटिएका सुरक्षा निकाय तथा राष्ट्रसेवकहरूलाई लक्षित गरी सार्वजनिक नैतिकता तथा शिष्टाचारविपरीतका सामग्री विद्युतीय स्वरूपमा प्रकाशन गरेका थिए। त्यस्ता सामग्रीमार्फत सुरक्षा निकाय तथा राष्ट्रसेवकप्रति घृणा–द्वेष फैलाउँदै नागरिक र सुरक्षा निकायबीचको सुमधुर सम्बन्धमा खलल पुर्याउने प्रयास गरेको आरोप प्रहरीले लगाएको छ।
प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–२९, अनामनगर क्षेत्रबाट नियन्त्रणमा लिएको हो। उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीका अनुसार परियार यसअघि पनि सामाजिक सञ्जालमार्फत विभिन्न गलत सूचना, अफवाह तथा धार्मिक घृणा–द्वेषपूर्ण अभिव्यक्ति दिने गरेको र त्यसक्रममा पक्राउ परी छुटेको भन्ने विषयमा समेत थप अनुसन्धान भइरहेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक एवं प्रवक्ता दानबहादुर थापाले घटनाबारे जानकारी दिँदै सामाजिक सञ्जालको दुरुपयोग गरी विपद्का बेला भ्रम, घृणा तथा द्वेष फैलाउने गतिविधिमाथि अनुसन्धान भइरहेको बताएका छन्।
