काठमाडौं, साउन ११।सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायण दत्त पौडेलले साउन १० गते लुम्बिनी प्रदेशअन्तर्गत पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देही जिल्लाका सीमा क्षेत्रको अनुगमन गर्नुभएको छ।
अनुगमनका क्रममा महानिरीक्षक पौडेलले ती जिल्लामा रहेका सशस्त्र प्रहरी बल नेपालका बाहिनी, गण, गुल्म, बोर्डर आउट पोस्ट (बीओपी) तथा सुरक्षा पोस्टहरूको निरीक्षण गर्नुका साथै त्यहाँ कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरूलाई सीमा सुरक्षामा अझ प्रभावकारी रूपमा परिचालन हुन निर्देशन दिनुभयो।
उहाँले नेपाल–भारत सीमा क्षेत्रमा हुने तस्करी, अवैध ओसारपसार तथा अन्य गैरकानुनी गतिविधिमाथि कडा निगरानी राखी रोकथामका लागि उच्च सतर्कताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभएको छ। साथै सीमा सुरक्षालाई थप सुदृढ, प्रभावकारी र नागरिकमैत्री बनाउन आवश्यक समन्वय, अनुशासन र व्यावसायिकता कायम राख्न समेत उहाँले जोड दिनुभयो।
सशस्त्र प्रहरी बलले सीमा सुरक्षालाई प्राथमिकतामा राख्दै अवैध गतिविधि नियन्त्रण तथा राष्ट्रिय सुरक्षालाई थप सुदृढ बनाउन निरन्तर अनुगमन र निरीक्षणलाई तीव्रता दिएको जनाएको छ।
