(जाडोबाट प्रभावित विपन्नलाई न्यानो कपडा वितरण तथा नीति निर्देशन)
वीरगञ्ज, १ माघ।
नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की तथा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नबिना खत्री कार्कीको उपस्थितिमा पर्साको वीरगञ्ज तथा पोखरिया क्षेत्रमा विभिन्न सामाजिक तथा संस्थागत कार्यक्रम सम्पन्न भएका छन्।
मिति २०८२।०९।३० गते दिउँसो करिब १:४५ बजे प्रहरी महानिरीक्षक कार्की जिल्लामा आगमन गर्नुभएको थियो। सोही क्रममा २०८२।१०।०१ गते दिउँसो २:४५ बजे पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नं. ०४ स्थित श्री जिल्ला उच्चाङ्गल रामदेव कलवार माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा उहाँ प्रमुख अतिथि तथा श्रीमती संघकी अध्यक्ष नबिना खत्री कार्की विशेष अतिथिका रूपमा सहभागी हुनु भएको थियो।
उक्त कार्यक्रममा शीतलहरबाट प्रभावित अति विपन्न दलित तथा अन्य समुदायका १८४ जना व्यक्तिहरूलाई जाडोका न्यानो कपडा वितरण गरिएको थियो।
कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम धनुषाका प्रमुख प्रहरी नायब महानिरीक्षक गोविन्द थपलिया, पोखरिया नगरपालिकाका नगर प्रमुख प्रद्युम्न प्रसाद चौहान, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठक, नगर उपप्रमुख, नगरपालिकाका जनप्रतिनिधि, प्रहरी अधिकृत तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रहरी कर्मचारीलाई महत्वपूर्ण नीति निर्देशन
कार्यक्रम पश्चात प्रहरी महानिरीक्षक कार्कीले जिल्ला प्रहरी कार्यालय पर्सामा उपस्थित सीनियर प्रहरी अधिकृत, जुनियर अधिकृत, प्रहरी हवल्दार, प्रहरी जवान तथा मातहत युनिट इन्चार्जहरूलाई वर्तमान राजनीतिक अवस्था, अपराध अनुसन्धान, लागूऔषध नियन्त्रण, भन्सार चोरी–निकासी, अवैध उत्खनन तथा समसामयिक शान्ति सुरक्षासम्बन्धी विषयमा महत्वपूर्ण नीति निर्देशन प्रदान गर्नु भएको प्रहरीले जनाएको छ।

मानवसेवा आश्रममा सहयोग
यसै क्रममा प्रहरी महानिरीक्षक कार्कीले वीरगञ्जस्थित मानवसेवा आश्रममा रहेका अनाथ, असहाय तथा वृद्धवृद्धाहरूलाई फलफूल तथा खाद्यान्न वितरण गर्नुका साथै उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो।
प्रहरी संगठन प्रमुखको यस भ्रमणले सामाजिक उत्तरदायित्व, मानव सेवा तथा सुरक्षा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ।
