काठमाडौं, ३० पुस।
प्रहरी हुँ भनी सर्वसाधारणलाई ठगी तथा लुटपाट गर्दै हिँड्ने एक व्यक्तिलाई काठमाडौं प्रहरीले लागू औषध र सुनका गरगहना सहित नियन्त्रणमा लिएको छ।
मिति २०८२।०९।२५ गते काठमाडौं महानगरपालिका–८ स्थित शम्भुमार्ग नजिक केही व्यक्तिले आफूलाई प्रहरी बताउँदै ठगी गरिरहेको भन्ने सूचनाको आधारमा अनुसन्धानका लागि खटिएको प्रहरी टोलीले उक्त व्यक्तिलाई पक्राउ गरेको हो।
पक्राउ पर्ने व्यक्ति जिल्ला काभ्रेपलान्चोक, पनौती नगरपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–९ मा बसोबास गर्दै आएका ३३ वर्षीय आकाश भन्ने बिक्रान्त के.सी. रहेका छन्।
निजको डेरा कोठामा गरिएको खानतलासीका क्रममा
Nitrazepam Tablets लेखिएको २२ पत्ता (प्रति पत्तामा १० का दरले) जम्मा २२० ट्याब्लेट,
सुनको सिक्री १ थान र सुनको मुन्द्रा १ जोर
फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका के.सी. लाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त गौशालामा राखी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पवन कुमार भट्टराई, प्रहरी प्रवक्ता तथा सूचना अधिकारीले जानकारी दिएका छन्।
प्रहरीले सर्वसाधारणलाई प्रहरीको नक्कली परिचय दिने व्यक्तिहरूप्रति सतर्क रहन आग्रह गर्दै यस्ता गतिविधिबारे तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ।
