बारा, २९ पुस।
बारा प्रहरीले लागू औषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै ठूलो सफलता हात पारेको छ। ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) बेद प्रकाश जोशीको कुशल नेतृत्वमा खटिएको प्रहरी टोलीले भारी मात्रामा लागू औषध गाँजा बरामद गर्दै एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार मिति २०८२ साल पुस २९ गते बिहान करिब ०९:३० बजेको समयमा प्रहरी चौकी जैतापुर र अस्थायी प्रहरी पोष्ट पिलुवा, बाराबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा जिल्ला बारा, जीतपुरसिमरा उप–महानगरपालिका वडा नं. १८ बडर्वा स्थित मनहरीबाट कलैयातर्फ आउँदै गरेको BAC 2343 नम्बरको योद्धा पिकअप गाडीलाई शंकास्पद ठानी रोकी चेकजाँच गरेको थियो।
चेकजाँचको क्रममा उक्त गाडीको पछाडिको भागमा फल्स बटम (कृत्रिम तह) बनाई कालो प्लास्टिकमा लुकाईछिपाई राखिएको अवस्थामा लागू औषध गाँजा २०३ किलो ८५० ग्राम (२० बिस पोका) फेला परेको प्रहरीले जनाएको छ। ठूलो परिमाणमा गाँजा ओसारपसार भइरहेको अवस्थामा गाडी चालकलाई गाँजासहित नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्ने व्यक्तिको विवरण यस प्रकार रहेको छः
१. गाडी चालक – जिल्ला मकवानपुर, मनहरी गाउँपालिका वडा नं. ०६ बस्ने २४ वर्षीय निशान बहादुर सिन्चुरी।
बरामद गरिएको लागू औषध, सवारी साधन तथा पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिनुभयो।
प्रहरी प्रवक्ता पण्डितका अनुसार बारा जिल्लामा लागू औषधको अवैध कारोबार, ओसारपसार तथा प्रयोग नियन्त्रण गर्न प्रहरीले शून्य सहनशीलता नीति अवलम्बन गर्दै निरन्तर अभियान सञ्चालन गरिरहेको छ। “लागू औषध नियन्त्रण प्रहरीको प्राथमिकतामा रहेको विषय हो। यस्ता अवैध गतिविधिमा संलग्न जो–कोहीलाई कानुनको दायरामा ल्याइनेछ,” उहाँले स्पष्ट पार्नुभयो।
स्थानीय बासिन्दाहरूले समेत बारा प्रहरीले पछिल्लो समय लागू औषध नियन्त्रणमा देखाएको सक्रियता र सफलताप्रति प्रशंसा व्यक्त गरेका छन्। प्रहरीको निरन्तर गस्ती, सूचना संकलन र सशक्त कारबाहीका कारण लागू औषध कारोबारमा संलग्न गिरोहहरू दबाबमा परेको बताइएको छ।
बारा प्रहरीको यस सफल कारबाहीले जिल्लामा लागू औषध विरुद्धको अभियानलाई थप मजबुत बनाएको छ भने आगामी दिनमा पनि यस्ता अवैध गतिविधि नियन्त्रणका लागि प्रहरी अझ सशक्त रूपमा अघि बढ्ने विश्वास गरिएको छ।
