बारा, साउन ११। लगातार परेको अविरल वर्षाका कारण बारा जिल्लाको निजगढ नगरपालिका–८ स्थित बकैया खोलामा पानीको बहाव करिब ७ फिटसम्म बढेपछि स्थानीय बासिन्दालाई सतर्क गराउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जनचेतनामूलक माइकिङ अभियान सञ्चालन गरेको छ।
मिति २०८३ साउन १० गते राति करिब ९:०० बजेदेखि परेको वर्षापछि खोलामा पानीको सतह उल्लेख्य रूपमा बढेपछि खोला आसपास बसोबास गर्ने नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी सहायक निरीक्षक भोजबहादुर खत्रीको नेतृत्वमा ५ जना तथा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस निजगढबाट सशस्त्र प्रहरी सहायक निरीक्षक राजेन्द्रप्रसाद जोशीको नेतृत्वमा ४ जनाको संयुक्त टोली परिचालन गरिएको थियो।
संयुक्त टोलीले जोखिमयुक्त बस्तीमा माइकिङ गर्दै नदी किनारमा नजान, सुरक्षित स्थानमा बस्न तथा आवश्यक सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको प्रहरीले जनाएको छ।
सुरक्षा निकायले वर्षायाममा नदी तथा खोलाको बहाव अझ बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन र कुनै आपतकालीन अवस्था उत्पन्न भए तत्काल प्रहरीलाई जानकारी गराउन पनि अनुरोध गरेको छ।
