बारा, साउन ११ । बाराको कलैया उपमहानगरपालिका–१७ ब्रह्मपुरीस्थित भित्री सडकमा सोमबार बिहान भएको मोटरसाइकल दुर्घटनामा १५ वर्षीय किशोरको मृत्यु भएको छ भने अर्का एक किशोर घाइते भएका छन्।
बिहान करिब ८ः२५ बजे भवानीपुरबाट ब्रह्मपुरीतर्फ जाँदै गरेको ना ४५ प २१७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको विद्युत् पोलमा ठोक्किँदा चालक कलैया उपमहानगरपालिका–३ निवासी अजित मन्सुरका १५ वर्षीय छोरा सोयब मन्सुर गम्भीर घाइते भएका थिए।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही स्थानका साबिर हुसेन अन्सारीका १५ वर्षीय छोरा साहिद अन्सारीको हातमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुवै घाइतेलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। उपचारकै क्रममा बिहान करिब ९ बजे चिकित्सकले ईसीजी परीक्षणपछि चालक सोयब मन्सुरलाई मृत घोषणा गरेका हुन्।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट गंगापुरबाट प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) महमद हुसेन देवानको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
मृतकको शव हाल प्रादेशिक अस्पताल कलैयामा राखिएको छ। दुर्घटनाबारे बारा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
