पर्सा, साउन ११। पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकमा रहेको जय नेपाल होटलबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा आइतबार बिहान करिब ७:३० बजे प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्युरो पर्साको संयुक्त टोलीले होटलको कोठा नम्बर ११८ मा कानुनबमोजिम खानतलासी गर्दा लागूऔषध बरामद गरेको हो।
खानतलासीका क्रममा NITCOR-10 लेखिएको २० पत्तामा रहेका २०० वटा ट्याब्लेट तथा ONEREX लेखिएको १०० मिलिलिटरका २ बोतल लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।
बरामद लागूऔषधसहित पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका–६ निवासी ५२ वर्षीय उत्तम कुमार पाठक र पर्साको वीरगञ्ज महानगरपालिका–२ निवासी ३५ वर्षीय ओसिम ठकुराई रहेका छन्।
उनीहरू लागूऔषध बिक्री–वितरणमा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।
