काठमाडौँ,१० असोज । निर्वाचन आयोग, नेपालले आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली संकलन कार्य पुनः सञ्चालन गर्ने निर्णय गरेको छ। आयोगको निर्णयअनुसार अब यो प्रक्रिया मिति २०८२/०७/३०( कार्तिक ३० )गतेसम्म सञ्चालन हुनेछ।
यस अन्तर्गत १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका नागरिकले विहान ८:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म (सार्वजनिक विदा बाहेक) प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा गई नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। साथै, आयोगको वेबसाइट www.election.gov.np मा उपलब्ध प्रि-रजिष्ट्रेशन प्रणाली (applyvr.election.gov.np) मार्फत आवेदन भरी सम्बन्धित कार्यालयमा जैविक (Biometric) विवरण उपलब्ध गराउनुपर्नेछ।
कार्यक्रम अन्तर्गत नयाँ मतदाता दर्तासँगै विवाह वा बसाइँसराइका कारण मतदाता नामावली स्थानान्तरण गर्न चाहने, नाम वा अन्य विवरणमा त्रुटि सच्याउन चाहने नागरिकले समेत सोही समयमा आवश्यक प्रक्रिया पूरा गर्न सक्ने आयोगले जनाएको छ।
निर्वाचन आयोगले योग्य सबै नेपाली नागरिकलाई मतदाता नामावलीमा दर्ता भई आफ्नो विवरण अद्यावधिक गर्न आग्रह गर्दै, आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफ्नो मतदान अधिकार प्रयोग गर्न हार्दिक अनुरोध गरेको छ।
