चाडपर्व र निर्वाचन सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता बढाउन महानिरीक्षक अर्यालको निर्देशन

समाचार

काठमाडौँ, असोज १० ।
सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) राजु अर्यालले आगामी चाडपर्व तथा प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरक्षामा उच्च सतर्कता अपनाउन मातहत इकाइलाई निर्देशन दिनुभएको छ ।

नेपालीहरूको महान चाड बडादशैँ, तिहार, नेपाल सम्वत् ११४६ तथा छठ पर्वको अवसरमा आइजीपी अर्यालले प्रधान कार्यालयबाट जारी गरेको निर्देशनमा जनतालाई निर्धक्कसाथ चाडपर्व मनाउन सक्ने वातावरण सुनिश्चित गर्न विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याउन आदेश दिनुभएको हो ।

उहाँले चाडपर्वको समयमा सीमा नाकाबाट हुने सम्भावित चोरी–तस्करी नियन्त्रण गरी राजस्व चुहावट रोक्न सक्रियता बढाउनुपर्नेमा जोड दिनुभयो । साथै, स्वदेश फर्किने नागरिकहरूको सुरक्षित र सम्मानजनक आवागमनका लागि प्रमुख नाकामा सहायता डेस्क स्थापना गरी समकक्षी सुरक्षा निकायहरूसँग समन्वय गर्न पनि निर्देशन दिइएको छ ।

हालैको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्नुभएका अर्यालले आगामी फागुन २१ गते हुने आम निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन प्रारम्भिक तयारीमा जुट्न आदेश दिनुभएको छ ।

चाडपर्व अवधिमा सडक दुर्घटना, बाढी, पहिरो, आगलागी जस्ता सम्भावित विपद् व्यवस्थापनका लागि उद्धार टोलीलाई पूर्ण तयारीमा राख्न, प्रारम्भिक चेतावनी प्रणालीको विकास तथा अद्यावधिक गर्न र स्थानीय प्रशासनसँग समन्वय बढाउन पनि उहाँले निर्देशन दिनुभएको छ ।

“अप्ठ्यारो परिस्थितिमा उच्च मनोबल र कार्यकुशलतासहित चुनौती सामना गर्न सक्ने गरी एकजुट भई योजना बनाउन आवश्यक छ,” आइजीपी अर्यालले मातहत कमाण्डरलाई स्मरण गराउनुभयो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *