सिमामा अब सुरक्षाको ‘तेस्रो आँखा’ : नेपाल–भारतका मुख्य नाकामा सशस्त्र प्रहरीको बिआइटी परिचालन, यात्रु सहजीकरणदेखि सीमा अपराध नियन्त्रणसम्म विशेष भूमिका

समाचार

वीरगञ्ज, साउन ११ ।नेपाल–भारत सीमामा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी, आधुनिक र नागरिकमैत्री बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालले बोर्डर इन्टरएक्सन टिम (Border Interaction Team–BIT) को औपचारिक परिचालन सुरु गरेको छ। साउन १० गतेदेखि पाइलट परियोजनाका रूपमा नेपाल–भारतका मुख्य ६ वटा सीमाना नाकामा बिआइटी परिचालनमा आएको हो।

सशस्त्र प्रहरीका अनुसार झापा, मोरङ, रुपन्देही, बाँके, कैलाली र पर्साका प्रमुख सीमा नाकामा जुनियर अधिकृतको नेतृत्वमा बिआइटी टोली खटाइएको छ। सीमा सुरक्षा व्यवस्थापनमा नयाँ अभ्यासका रूपमा सुरु गरिएको यो अवधारणाले सीमामा हुने अपराध नियन्त्रणसँगै यात्रु तथा विदेशी नागरिकलाई सहज सेवा उपलब्ध गराउने विश्वास गरिएको छ।

बिआइटी टोलीले सीमा क्षेत्रमा हुने गतिविधिको निरन्तर निगरानी गर्नुका साथै नेपाल–भारत आवतजावत गर्ने यात्रुहरूको सहजीकरण, तेस्रो मुलुकका नागरिकहरूको अभिलेख व्यवस्थापन तथा सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक गतिविधिको रोकथाममा सक्रिय भूमिका निर्वाह गर्नेछ।

विशेषगरी लागूऔषध ओसारपसार, अवैध मानव बेचबिखन तथा ओसारपसार, सीमा अपराध, अवैध घुसपैठ तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणमा बिआइटी प्रभावकारी हुने सशस्त्र प्रहरीको अपेक्षा छ।

सीमामा प्राप्त हुने सूचनाको विश्लेषण, समुदायसँगको अन्तरक्रिया र आवश्यक समन्वयमार्फत सुरक्षा संयन्त्रलाई अझ मजबुत बनाउने लक्ष्य राखिएको छ।

नागरिकमैत्री पोशाकमा खटिने बिआइटी

बिआइटीमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरू नियमित फौजी पोशाकको सट्टा छुट्टै नागरिकमैत्री पोशाकमा रहने व्यवस्था गरिएको छ। यसबाट विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा विदेशी नागरिकहरूले सुरक्षाकर्मीसँग सहज रूपमा सम्पर्क गर्न सक्ने वातावरण सिर्जना हुने विश्वास गरिएको छ।

सशस्त्र प्रहरीका अनुसार नागरिकमैत्री व्यवहार र सेवामूलक अवधारणालाई प्राथमिकता दिँदै बिआइटीले आवश्यक परामर्श, सहयोग तथा सूचना प्रदान गर्नेछ। यसले सीमा क्षेत्रमा सुरक्षाप्रति नागरिकको विश्वास अझ बढ्ने अपेक्षा गरिएको छ।

पर्साको मितेरी पुलमा २४सै घण्टा सेवा

पर्सा जिल्लाको नेपाल–भारत सीमालाई जोड्ने मितेरी पुलमा पनि साउन १० गतेदेखि बिआइटी परिचालनमा आएको छ। दैनिक १० हजारभन्दा बढी नेपाली तथा भारतीय नागरिक आवतजावत गर्ने यस नाकामा बिआइटीको उपस्थितिले यात्रुलाई थप सहजता, सुरक्षा र आवश्यक सहयोग उपलब्ध हुने अपेक्षा गरिएको छ।

सीमापार हुने अपराध नियन्त्रण, शंकास्पद गतिविधिको निगरानी तथा विदेशी नागरिकको अभिलेख व्यवस्थापनमा समेत यस टोलीले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

विशेष तालिमप्राप्त १४ जना सशस्त्र प्रहरी परिचालन
सशस्त्र प्रहरी बल नेपाल नम्बर–१३ गण पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीले बिआइटीमा खटिएका सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिँदै पर्सामा कार्यक्रमको शुभारम्भ गरेका हुन्।

त्यसैगरी सीमा सुरक्षा गुल्म वीरगञ्जका गुल्मपति डीएसपी विकास अधिकारीले बिआइटी सदस्यहरूलाई सीमा क्षेत्रको भौगोलिक अवस्था, संवेदनशील स्थान तथा सुरक्षा चुनौतीबारे जानकारी गराउँदै जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न निर्देशन दिएका थिए।

मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बाहिनी मुख्यालय, बर्दिवासमा विशेष तालिम प्राप्त गरेका १४ जना सशस्त्र प्रहरी कर्मचारी पर्सामा बिआइटीका रूपमा खटिएका छन्। उनीहरू मितेरी पुल तथा आसपासका सीमावर्ती क्षेत्रमा चौबीसै घण्टा परिचालन हुने सशस्त्र प्रहरीले जनाएको छ।

देशभर विस्तार गर्ने तयारी

रुपन्देहीको डण्डा नाकाबाट सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको विशेष निर्देशनसँगै सुरु गरिएको बिआइटी अवधारणालाई पाइलट परियोजनाको मूल्याङ्कनपछि क्रमशः अन्य सीमा नाकाहरूमा पनि विस्तार गर्ने योजना रहेको सशस्त्र प्रहरी बलले जनाएको छ।

सीमामा सुरक्षा, सेवा र समन्वयलाई एकसाथ अघि बढाउने उद्देश्यका साथ सुरु गरिएको बिआइटी अवधारणालाई नेपाल–भारत सीमा व्यवस्थापनमा नयाँ र प्रभावकारी अभ्यासका रूपमा हेरिएको छ। सीमा क्षेत्रमा नागरिकमैत्री सुरक्षा सेवा प्रवाह, यात्रुको सहज आवागमन तथा सीमापार हुने अपराध नियन्त्रणमा यसको भूमिका महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *