कपिलवस्तु, साउन १० । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमिया स्थित हुलाकी सडकखण्डमा आइतबार राति भएको बस र मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मध्य पश्चिम जनसेवा यातायातको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु.प्र. ०१–००४ प ३८५६ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकललाई ठक्कर दिँदा दुवै जना गम्भीर घाइते भएका थिए।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पकडीबाट प्रहरी वरिष्ठ नायब निरीक्षकको नेतृत्वमा सात सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो। घाइते दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लगिएकोमा चिकित्सकले आइतबार राति १:५० बजे मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार मृतक दुवै जनाको पहिचान अझै खुल्न सकेको छैन। शव जिल्ला अस्पताल तौलिहवामा राखिएको छ।
दुर्घटनामा संलग्न बस, मोटरसाइकल तथा बसका सहचालक सल्यानको बनगाड कुपिण्डे नगरपालिका–५ निवासी २१ वर्षीय सुनिल रानालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नियन्त्रणमा लिएको छ। बस चालक सुर्खेतको गुर्भाकोट नगरपालिका–२ निवासी २८ वर्षीय श्यामकुमार कामी भने रुपन्देहीमा प्रहरीको नियन्त्रणमा रहेका छन्।
घटनाबारे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले थप अनुसन्धान गरिरहेको जनाएको छ।
