पर्सा, साउन १० । चोरी तथा डाँका सम्बन्धी कसूर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको फैसला कार्यान्वयन टोलीले वीरगञ्ज महानगरपालिका–३० निवासी २८ वर्षीय आकाश यादवलाई शनिबार (२०८३ साउन ९) दिउँसो करिब १२:४० बजे वीरगञ्ज महानगरपालिका–१९ बिन्दवासिनीस्थित सडकखण्डबाट पक्राउ गरेको हो।
पर्सा जिल्ला अदालतको २०८१ चैत २२ गतेको फैसलाअनुसार चोरी तथा डाँका सम्बन्धी कसूर मुद्दामा यादवलाई ५ वर्ष कैद र रु. ५० हजार जरिवाना सजाय तोकिएको थियो। अदालतको फैसला कार्यान्वयनबाट फरार रहेका उनलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लका अनुसार पक्राउ परेका प्रतिवादीमाथि थप कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
