रसुवा, साउन १० । रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित चिलिमे पुल नजिक पासाङ ल्हामु सडकखण्डमा शनिबार साँझ एक विद्युतीय (ईभी) भ्यान त्रिशूली नदीमा खस्दा चालक बेपत्ता भएका छन्।
प्रहरीका अनुसार शनिबार साँझ करिब ५:४० बजे स्याफ्रुबेँसीबाट धुन्चेतर्फ आउँदै गरेको ‘अन टेस्ट’ ईभी भ्यान सडकबाट करिब २५ मिटर तल त्रिशूली नदीमा खसेको हो।
दुर्घटनामा भ्यान चालक रसुवा कालिका गाउँपालिका–३ निवासी २२ वर्षीय सबिन तामाङ बेपत्ता भएका छन्।
घटनालगत्तै प्रहरी तथा उद्धार टोलीले बेपत्ता चालक र नदीमा खसेको ईभी भ्यानको खोजी तथा उद्धार कार्य तीव्र रूपमा अघि बढाएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
