बंगलादेशमा हिन्दु युवकको निर्मम हत्या घटनाप्रति नेपाल मुस्लिम समाज संघ, पर्साद्वारा घोर भर्त्सना

समाचार

बिरगंज, ५ पुस ।
बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायका एक निर्दोष युवकको निर्मम हत्या भएको घटनाप्रति नेपाल मुस्लिम समाज संघ, पर्साले घोर भर्त्सना व्यक्त गरेको छ। संघका अध्यक्ष महबुब अली (उर्फ शेरू) द्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति जारी गर्दै उक्त अमानवीय घटनाले मानवता, सहअस्तित्व र धार्मिक सहिष्णुतामाथि गम्भीर आघात पुगेको उल्लेख गरिएको छ।

प्रेस विज्ञप्तिमा पर्सा जिल्लामा क्रियाशील नेपाल मुस्लिम समाज संघ, पर्साको तर्फबाट गहिरो दुःख र चिन्ता व्यक्त गर्दै पीडित परिवारप्रति हार्दिक समवेदना प्रकट गरिएको छ। धर्म, जाति वा समुदायको आधारमा गरिने कुनै पनि प्रकारको हिंसा सभ्य समाजका लागि स्वीकार्य नहुने संघको दृढ धारणा रहेको विज्ञप्तिमा उल्लेख छ।

संघले विश्वभर बहुसंख्यक र अल्पसंख्यक समुदायबीच भाइचारा, माया, स्नेह र पारस्परिक सम्बन्ध कायम हुनु पर्नेमा जोड दिएको छ। साथै, नेपाल सधैंदेखि धार्मिक सहिष्णुता, आपसी सद्भाव र सामाजिक एकताको उदाहरण रहँदै आएको देश भएको उल्लेख गर्दै छिमेकी मुलुकमा अल्पसंख्यक समुदायमाथि भइरहेका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।

विज्ञप्तिमा नेपालभित्र पनि सबै समुदायबीच सद्भाव कायम राख्न राज्यका सबै निकायहरू सचेत र सक्रिय रहनु अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै सम्बन्धित निकायसमक्ष चार बुँदे माग राखिएको छ। जसअन्तर्गत बंगलादेशको उक्त घटनाप्रति नेपाल सरकारको तर्फबाट औपचारिक चिन्ता र निन्दा प्रकट गर्न पहल गर्न, नेपालभित्र रहेका सम्पूर्ण धार्मिक तथा अल्पसंख्यक समुदायको सुरक्षा, अधिकार र सम्मान सुनिश्चित गर्न प्रशासनिक सतर्कता सुदृढ बनाउन, धार्मिक सद्भाव बिगार्ने गतिविधि तथा घृणाजन्य अभिव्यक्तिमाथि कडाइका साथ निगरानी गर्न र अन्तरधार्मिक सहअस्तित्व, शान्ति र भाइचाराको सन्देश प्रवाह गर्न स्थानीय स्तरमा समन्वयकारी भूमिका निर्वाह गर्न माग गरिएको छ।

अन्त्यमा, नेपाल मुस्लिम समाज संघ, पर्साले शान्ति, सहिष्णुता र मानवअधिकारको पक्षमा सदैव प्रतिबद्ध रहेको स्पष्ट पार्दै यस गम्भीर विषयलाई संवेदनशीलताका साथ ग्रहण गरी आवश्यक पहल कदमी चाल्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *