पश्चिमी उत्तर प्रदेशबाट असमकी नाबालिगको सकुशल उद्धार,‘मिसन निर्भया अपरेसन’मा अन्तर–एजेन्सी समन्वयको उल्लेखनीय सफलता

समाचार

मुजफ्फरनगर (उत्तर प्रदेश) / तामूलपुर (असम),५ पुस।

भारत–भुटान सीमावर्ती क्षेत्र असमको तामूलपुर जिल्लाकी १७ वर्षीया नाबालिग किशोरी अञ्जली (परिवर्तित नाम) लाई पश्चिमी उत्तर प्रदेशको मुजफ्फरनगर जिल्लाबाट सकुशल उद्धार गरिएको छ। यो मानवीय तथा संवेदनशील अभियान ‘मिसन निर्भया अपरेसन’ अन्तर्गत विभिन्न सुरक्षा तथा सामाजिक संस्थाहरूको प्रभावकारी समन्वयमा सफलतापूर्वक सम्पन्न भएको हो।

प्राप्त जानकारीअनुसार कक्षा आठमा अध्ययनरत नाबालिग किशोरी करिब छ महिना अघि अचानक बेपत्ता भएकी थिइन्। यस सम्बन्धमा असमको तामूलपुर थाना मा मुद्दा दर्ता गरिएको थियो। परिवार र प्रहरीले लामो समयसम्म खोजी गर्दा पनि कुनै सुराग नपाएपछि मानव तस्करीको आशंका थप बलियो बन्दै गएको थियो।
अत्यन्तै आर्थिक रूपमा कमजोर तथा पीडित परिवारको सहयोगका लागि असम सेन्टर फर रुरल डेभलपमेन्ट (ACRD Assam) ले यो विषय इन्स्पेक्टर मनोज कुमार शर्माको ध्यानाकर्षण गराएको थियो। साथै सीमान्त मुख्यालय सशस्त्र सीमा बल (SSB) तेजपुरलाई पनि लिखित रूपमा जानकारी गराइएको थियो।

मामलाको गम्भीरतालाई मध्यनजर गर्दै इन्स्पेक्टर मनोज कुमार शर्माले तत्काल अनुसन्धान अघि बढाएका थिए। परिवार, छिमेकी तथा विद्यालयका सहपाठीसँग सोधपुछ गर्दै प्राविधिक विश्लेषण गर्दा एक संदिग्ध मोबाइल नम्बर पहिचान भयो। उक्त नम्बरको लोकेशन दिल्ली नजिकै पश्चिमी उत्तर प्रदेशको मुजफ्फरनगर जिल्ला अन्तर्गत मन्सूरपुर थाना क्षेत्रको बेगराजपुर गाउँमा देखिएको थियो।
यस संवेदनशील प्रकरणमा मिशन मुक्ति फाउन्डेशन, नयाँ दिल्लीका निर्देशक वीरेंद्र सिंहको पहलमा विभिन्न एजेन्सीबीच प्रभावकारी समन्वय स्थापित गरियो र अभियुक्तसम्म पुग्ने मार्ग प्रशस्त गरियो।
राष्ट्रिय मानव अधिकार आयोग (NHRC) का सदस्य श्री प्रियांक कानूनगोको निर्देशनमा एसएसबीको इन्टेलिजेन्स इकाइ (क्षेत्रीय मुख्यालय बेजपारा), उत्तर प्रदेशको मुजफ्फरनगर प्रहरी, मिशन मुक्ति फाउन्डेशन, रेस्क्यू एण्ड रिलिफ फाउन्डेशन तथा मानव तस्करी विरोधी इकाइ, क्षेत्रीय मुख्यालय एसएसबी बेजपाराको संयुक्त टोली गठन गरी विशेष अपरेसन सञ्चालन गरिएको थियो।

अपरेसन दुई तहमा सञ्चालन गरिएको थियो। एक टोली स्थलमै सक्रिय रहँदा अर्को टोली फोन तथा व्हाट्सएप कलमार्फत प्राविधिक तथा समन्वय कार्यमा जुटेको थियो। संयुक्त प्रयासको परिणामस्वरूप अभियुक्तलाई नियन्त्रणमा लिइयो र नाबालिग किशोरीलाई सकुशल उद्धार गर्न सफल भइयो।

उद्धारपश्चात नाबालिगलाई आवश्यक चिकित्सकीय उपचार तथा मनोसामाजिक परामर्शका लागि सम्बन्धित निकायको जिम्मा लगाइएको छ। घटनासम्बन्धी विस्तृत प्रतिवेदन चाँडै सार्वजनिक गरिने जनाइएको छ।
यो सफल अपरेसन मानव तस्करीविरुद्ध भइरहेको अभियानमा अन्तर–एजेन्सी समन्वय, त्वरित निर्णय र प्रभावकारी कार्यान्वयनको उत्कृष्ट उदाहरण बनेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *