बिरगञ्ज–२ मा नवनिर्मित सामुदायिक धर्मशालाको उद्घाटन, कार्यवाहक नगर प्रमुख आलमले गरे उद्घाटन

समाचार

बिरगञ्ज, ११ भदौ । बिरगञ्ज महानगरपालिका–२ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक समारोहबीच उद्घाटन गरिएको छ। महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले धर्मशाला भवनको विधिवत् उद्घाटन गर्नुभएको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख आलमले धर्मशालाले स्थानीय समुदायका सामाजिक, धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले नगरवासीको आवश्यकता र स्थानीय विकास निर्माणलाई महानगरपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो।

नवनिर्मित धर्मशाला स्थानीय बासिन्दाका विभिन्न सामाजिक तथा सामुदायिक कार्यक्रम सञ्चालनका लागि उपयोगी हुने उहाँको भनाइ थियो। सामुदायिक पूर्वाधारको विकासमार्फत नागरिकलाई सहज र आवश्यक सेवा–सुविधा उपलब्ध गराउनेतर्फ महानगरपालिका प्रतिबद्ध रहेको समेत आलमले उल्लेख गर्नुभयो।

कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष महमद रेयाज मियाँ तेली, वडा सदस्य अब्दुल लतिफ अंसारी, सामुदायिक सेवा समितिका अध्यक्ष ग्यासुदिन ठकुराईलगायत स्थानीय अगुवा, जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

समारोहमा सहभागी वक्ताहरूले धर्मशाला निर्माणले वडावासीलाई सामाजिक, धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्न सहज हुने भन्दै खुसी व्यक्त गरेका थिए। उनीहरूले यस्ता सामुदायिक पूर्वाधारले स्थानीय स्तरमा आपसी सहकार्य र सामाजिक सद्भाव अभिवृद्धिमा समेत योगदान पुग्ने बताएका थिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *