चैत ५ पछि नेपाल प्रहरीको नयाँ आइजिपी को बन्दैछन्? दीपक थापा मुख्य दाबेदार

समाचार

काठमाडौं ,१३ फागुन ।

नेपाल प्रहरीका वर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवर आगामी चैत ५ गते अवकाशमा जाँदैछन्। कुँवरसँगै पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरू पनि अवकाशमा जाने छन्, जसमा टेकप्रसाद राई, दुर्गा सिंह, कुवेर कडायत, बुद्धिराज गुरुङ र जनक भट्टराई रहेका छन्।

कुँवरको अवकाशपछि एआइजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ मात्र प्रतिस्पर्धामा रहनेछन्। तीनै जना कुँवरका वैकल्पिक ब्याचमेट हुन् र २०५२ साल भदौ ११ गते प्रहरी निरीक्षकका रूपमा नेपाल प्रहरीमा प्रवेश गरेका थिए।

हाल नेतृत्वको दौडमा दीपक थापा एकल दाबेदार मानिएका छन्। उनी अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को प्रमुखको भूमिकामा रहेका छन् र सबै राजनीतिक शक्तिसँग सुमधुर सम्बन्ध भएका कारण भावी प्रहरी महानिरीक्षकको रूपमा सबैको ध्यान तानिरहेका छन्।

प्रहरी विधेयक पास भई कार्यान्वयनमा नआउन्जेल वर्तमान व्यवस्थाअनुसार नै आइजिपी नियुक्ति हुने सम्भावना छ। यदि विधेयक लागू भएमा नयाँ आइजिपीको कार्यकाल केही समय लम्बिन सक्छ।

गृहमन्त्री रमेश लेखकद्वारा प्रस्तुत नयाँ विधेयकमा प्रहरी महानिरीक्षकको उमेर हद ६० वर्ष र सेवा अवधि तीन वर्ष तोकिएको छ। तर, विधेयक पारित हुने समय र कार्यान्वयन मिति अझै निश्चित भइसकेको छैन।

यदि नयाँ विधेयक पारित नभएमा चैत ५ पछि नियुक्त हुने आइजिपीको कार्यकाल ६ महिना मात्र हुने अनुमान छ। सबैभन्दा वरिष्ठ अधिकृतलाई आइजिपी बनाउने परम्परा भए पनि राजनीतिक शक्तिकेन्द्रको रोजाइमा परिवर्तन आउन सक्ने सम्भावना भने कायम नै छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *