बाढी प्रभावित क्षेत्रमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, हालसम्म ४ हजार ४५१ जनाको उद्धार

समाचार

काठमाडौं, १२ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले रक्षाबन्धनको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै बाढी तथा विपद् प्रभावित क्षेत्रमा सरकारले खोज, उद्धार, राहत तथा पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिएका छन्।

उनले भनेका छन् ,”आज रक्षाबन्धन। सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको जीवनरक्षा र सुरक्षित भविष्यका लागि हृदयदेखि प्रार्थना गर्दछु। यस कठिन घडीमा विपद्बाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य छ। उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ।”

प्रधानमन्त्री शाहका अनुसार रसुवा तथा भोटेकोशी–त्रिशूली करिडोरलगायत प्रभावित क्षेत्रमा १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाल प्रहरीका ४ हजार ४७३, नेपाली सेनाका ६ हजार ७५५ र सशस्त्र प्रहरी बल नेपालका ४ हजार २०३ जना छन्।

हालसम्म ४ हजार ४५१ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये जलविद्युत् सुरुङबाट १९१ जना र शुक्रबार गरिएको हवाई उद्धारबाट ५१७ जना रहेका छन्। नेपाली सेना तथा निजी क्षेत्रका १६ वटा हेलिकप्टर परिचालन गरी धुन्चे, त्रिशूली, टिमुरे र स्याफ्रुबेँसीलगायत क्षेत्रमा निरन्तर हवाई उद्धार भइरहेको छ। हालसम्म ९९ वटा हवाई उडान भएका छन्।

उद्धारसँगै प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउने काम पनि जारी छ। हालसम्म ३२ ट्रक खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ भने हेलिकप्टरमार्फत ६ वटा उडानबाट राहत सामग्री पुर्‍याइएको प्रधानमन्त्री शाहले बताएका छन्। प्रभावित क्षेत्रमा सञ्चार सेटसमेत पठाइएको छ।

सुरुङमा फसेका नागरिक तथा कामदारको उद्धारलाई विशेष प्राथमिकता दिइएको छ। Upper Trishuli Hydropower Project तथा रसुवागढी जलविद्युत् केन्द्रमा फसेकाहरू र अन्य जोखिमयुक्त सुरुङमा खोज तथा उद्धार कार्य जारी रहेको जनाइएको छ। आवश्यक विशेष उद्धार उपकरणसमेत परिचालन गरिएको छ।
त्यस्तै, खोजी कार्य रसुवाबाट नुवाकोट, धादिङ हुँदै गोरखा, तनहुँ, चितवन र नवलपरासीसम्मको त्रिशूली–नारायणी नदी करिडोरमा विस्तार गरिएको छ। थप सुरक्षाकर्मी परिचालन गरी बेपत्ता नागरिक तथा शवको खोजी भइरहेको छ।

विदेशी नागरिकको खोज, उद्धार तथा पहिचानका लागि पनि विशेष समन्वय भइरहेको प्रधानमन्त्रीले बताएका छन्। हालसम्म १२९ जना विदेशी पर्यटक तथा नागरिकको उद्धार तथा पहिचान भएको छ। परराष्ट्र मन्त्रालयले सम्बन्धित दूतावास तथा परिवारसँग समन्वय गर्न Emergency Control Room सञ्चालन गरेको छ।
विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक रहेको स्पष्ट पार्दै प्रधानमन्त्री शाहले भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोग र सामग्रीबारे निरन्तर समन्वय भइरहेको बताएका छन्।

भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा पुनःबाढीको जोखिमलाई निरन्तर निगरानीमा राखिएको छ। सम्भावित जोखिम क्षेत्रमा पूर्वसूचना तथा सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गरिएको छ। जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गर्दै २ लाखभन्दा बढी SMS Alert मार्फत पूर्वसूचना दिइएको छ।

सडक सम्पर्क पुनःस्थापनामा पनि प्रगति भएको छ। वैकल्पिक सडकमार्ग सञ्चालनमा ल्याई साना चारपाङ्ग्रे सवारीसाधन सञ्चालन सुरु गरिएको छ भने काठमाडौं–मुग्लिन सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको प्रधानमन्त्रीले जानकारी दिएका छन्।

त्यसैगरी, काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क–बोगटीटार–कालिकास्थान–धुन्चे वैकल्पिक सडक साना चारपाङ्ग्रे सवारीसाधनका लागि सुचारु भएको छ। क्षतिग्रस्त पुलमा बाइपास निर्माणको काम सुरु गरिएको छ। नियमित सडक सम्पर्कका लागि भारत र चीनबाट ४८ मिटर लम्बाइका १० वटा Bailey Bridge उपलब्ध गराउन औपचारिक पहल गरिएको छ।

प्रभावित क्षेत्रमा खानेपानी, इन्धन तथा सरसफाइको व्यवस्था पनि अघि बढाइएको छ। नुवाकोटमा KUKL का चार वटा वाटर ट्याङ्कर परिचालन गरिएको छ भने सुरक्षित खानेपानीका लागि ९०० केजी ब्लिचिङ पाउडर पठाइएको छ। नुवाकोटका विभिन्न आयल स्टोरमा ४१ हजार लिटर डिजल र २४ हजार लिटर पेट्रोल मौज्दात रहेको तथा १७ हजार लिटर हवाई इन्धन नुवाकोट पठाइएको जनाइएको छ।

क्षतिको विस्तृत मूल्यांकनका लागि सडक, पुल, विद्युत्, खानेपानी, दूरसञ्चार, जलविद्युत्लगायत संरचनाको निरीक्षण गर्न १५ वटा प्राविधिक टोली परिचालन गरिएको छ।

स्वास्थ्य सेवा निरन्तर राख्न स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र सक्रिय गरिएको छ। वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र धुलिखेल अस्पताललगायतबाट मेडिकल टोली परिचालन गरिएको छ। कम्तीमा ५ हजार जनसंख्यालाई लक्षित गरी टेन्ट तथा आपतकालीन स्वास्थ्य सामग्रीको व्यवस्था गरिएको छ।

दूरसञ्चार सेवातर्फ प्रभावित १९८ टावर/साइटमध्ये १४५ वटा सञ्चालनमा आएका छन्। नेपाल टेलिकमका १२० मध्ये ८२ र एनसेलका ७८ मध्ये ६३ वटा साइट सञ्चालनमा आएको जनाइएको छ। विद्युत्तर्फ नुवाकोटका करिब ९० प्रतिशत क्षेत्रमा सेवा सुचारु भएको छ भने धुन्चेमा विद्युत् सेवा पुनःसञ्चालनका लागि काम भइरहेको छ।

जोखिममा रहेका परिवारका लागि Emergency Shelter तथा सुरक्षित स्थानमा Relocation को तयारी भइरहेको छ। सडक तथा पुल अवरुद्ध भएका बस्तीमा पहुँच सहज बनाउन रसुवा र नुवाकोटका करिब १० स्थानमा तुइन निर्माणको काम अघि बढाइएको छ।

सरकारले बाढी तथा विपद्बाट प्रभावित १५ स्थानीय तहलाई तत्काल राहत, उद्धार तथा व्यवस्थापनका लागि कुल ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो करिब ३६ घण्टामा १ अर्ब ९० करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको प्रधानमन्त्री शाहले बताएका छन्।

प्रभावित व्यक्ति, परिवार तथा व्यवसायका लागि राहत तथा पुनःस्थापना प्याकेज तयार भइरहेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थालाई लक्षित Business Recovery Package समेत तयार गर्ने काम अघि बढाइएको छ। साथै प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब/पारिश्रमिक उद्धार कोषमा जम्मा गर्ने व्यवस्था अघि बढाइएको छ।

प्रधानमन्त्री शाहले राहत, उद्धार तथा पुनःस्थापनामा सुरक्षा निकाय, स्वास्थ्य संस्था, रेडक्रस, नेपाल स्काउट, स्वयंसेवी संस्था, निजी क्षेत्र तथा विकास साझेदारसँग समन्वय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रोतसाधन एकीकृत रूपमा परिचालन भइरहेको बताएका छन्।

यसैबीच, प्रधानमन्त्री शाहले नेपाली MMA खेलाडी रवीन्द्र ढाँटले ‘Road to UFC’ मा जित हासिल गर्दै फाइनलमा प्रवेश गरेकोमा बधाई दिएका छन्। विपद्को अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन योगदान पुर्‍याएको भन्दै उनले ढाँटलाई सरकारको तर्फबाट धन्यवादसमेत दिएका छन्।

प्रधानमन्त्री शाहले “सरकारको सम्पूर्ण ध्यान अहिले प्रभावित नागरिकमै केन्द्रित छ” भन्दै मैदानको वास्तविक अवस्था बुझेर आवश्यक निर्णय गर्ने र सोहीअनुसार स्रोतसाधन परिचालन गरी उद्धार, राहत तथा पुनःस्थापनाको कामलाई निरन्तरता दिइरहेको बताएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *