बाढीले बगाएर ल्याएको सेफ तोडफोड गरी नगद चोरी गरेको आरोपमा पर्साका एक जनासहित २९ जना पक्राउ

समाचार

धादिङ, भदौ १३।  रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद राख्ने सेफ फेला पारी तोडफोड गरी भित्र रहेको रकम चोरी गरेको आरोपमा प्रहरीले पर्साका एक जनासहित २९ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार २०८३ भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको उक्त सेफ धादिङको गल्छी गाउँपालिका–४, बेल्खुखोला, त्रिशूली नदी किनारमा फेला परेको थियो। स्थानीय व्यक्तिहरूले सेफ तोडफोड गरी त्यसमा रहेको एकिन रकम थाहा नभएको नगद आफूखुसी निकालेर लगेको भन्ने सूचना भदौ १२ गते प्रहरीलाई प्राप्त भएको थियो।

सूचना प्राप्त हुनासाथ प्रहरीले उक्त स्थानमा टोली परिचालन गरी अनुसन्धान अघि बढाएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा २९ जनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनीहरूको साथबाट कुल रु. ९२ लाख ६८ हजार ५०५ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका–४ मासटारका पवन पौडेल, वीरबहादुर राना मगर, विनोद गिरी, नवराज भेटुवाल, पूर्णलाल श्रेष्ठ, विष्णुमणि अधिकारी, कृष्ण मगर, शिवबहादुर राना मगर, युवराज अधिकारी, सुशान्त श्रेष्ठ, सुचिमबहादुर राना मगर, सविन श्रेष्ठ, प्रेमबहादुर राना मगर, अनिल भेटुवाल, रामशरण सुवेदी, मिनबहादुर राना मगर, देवेन्द्र राना मगर, दीपक तामाङ, राजकुमार भेटुवाल, दिनेश अधिकारी, दिनेश पुलामी, टेकबहादुर राना मगर, सन्तोष श्रेष्ठ, सानुभाई श्रेष्ठ, सिद्धलेक गाउँपालिका–७ आदमटारका सानु खतिवडा तथा चितवन राप्ती नगरपालिका–६ घर भई हाल धादिङ गजुरी गाउँपालिका–८ आदमघाट बस्ने विचारी आले मगर, नारायण श्रेष्ठ र अग्नि आले मगर रहेका छन्।

त्यस्तै पर्सा बहुदरमाई नगरपालिका–९ घर भई हाल धादिङ गजुरी गाउँपालिका–६ आदमघाट बस्ने २८ वर्षीय सकुर अन्सारी पनि पक्राउ परेका छन्।
प्रहरीले बरामद भएको नगदको वास्तविक स्रोत, सेफमा रहेको कुल रकम तथा घटनामा संलग्न हुन सक्ने अन्य सम्भावित व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार बरामद नगद तथा नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

बरामद नगद : रु. ९२,६८,५०५ (बयानब्बे लाख अड्सठ्ठी हजार पाँच सय पाँच रुपैयाँ) रहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *