काठमाडौं ,१८ साउन । गृहमन्त्री सुधन गुरुङले धर्मका नाममा साम्प्रदायिक सद्भाव भड्काउने, हिन्दू–मुस्लिम समुदायबीच मनमुटाव सिर्जना गर्ने तथा भ्रामक सूचना (फेक न्युज) फैलाएर मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने कुनै पनि प्रयास राज्यका लागि अस्वीकार्य हुने स्पष्ट गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले नेपालको धार्मिक सहिष्णुता, सामाजिक एकता र सद्भावलाई कमजोर पार्ने गतिविधिमा संलग्न जोसुकैलाई कानुनको दायरामा ल्याई कडा कारबाही गरिने बताएका छन्।

उनले परापूर्वकालदेखि मिलेर बसेका विभिन्न धर्म र समुदायबीच विभाजन ल्याउने तथा समाजमा द्वेष फैलाउने गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने उल्लेख गर्दै यस्ता कार्यमा संलग्न व्यक्तिलाई कारबाही गर्न सरकार पछि नहट्ने चेतावनी दिएका छन्।
गृहमन्त्री गुरुङले सामाजिक सद्भाव कायम राख्न सबै नागरिकलाई संयमता अपनाउन, अपुष्ट तथा भ्रामक सूचना विश्वास नगर्न र जिम्मेवार ढंगले सामाजिक सञ्जाल प्रयोग गर्न पनि आग्रह गरेका छन्।
