अनुसन्धान नसकिँदै भ्रामक समाचार नप्रकाशन गर्न पर्सा प्रहरीको आग्रह

समाचार

वीरगञ्ज ,१८ साउन । जिल्ला प्रहरी कार्यालय पर्साले बालबालिकाविरुद्धको कसुर सम्बन्धी एक घटनाको अनुसन्धान जारी रहेको अवस्थामा अपुष्ट, अनुमानमा आधारित वा एकपक्षीय समाचार प्रकाशन तथा प्रसारण नगर्न सञ्चार माध्यमलाई आग्रह गरेको छ।

प्रहरीका अनुसार मिति २०८३ साउन ९ गते वीरगञ्ज महानगरपालिका–१३, राधेमाई टोलमा भएको बालबालिकाविरुद्धको कसुर सम्बन्धी किटानी जाहेरी प्राप्त हुनासाथ प्रहरी टोली परिचालन गरिएको थियो। सोही दिन उक्त घटनामा संलग्न भएको आरोपमा वीरगञ्ज–१३ निवासी ३२ वर्षीय निखिल सिंह राजपुतलाई नियन्त्रणमा लिई प्रचलित कानुन, अनुसन्धानका स्थापित सिद्धान्त तथा उपलब्ध प्रमाणका आधारमा निष्पक्ष, स्वतन्त्र र गोपनीय रूपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले अनुसन्धान प्रक्रिया सम्पन्न हुनुअघि अनुमान, अपुष्ट सूचना वा एकपक्षीय आधारमा प्रकाशित समाचारले अनुसन्धानमा प्रतिकूल असर पार्न सक्ने, सम्बन्धित पक्षहरूको अधिकार प्रभावित हुन सक्ने तथा सर्वसाधारणमा भ्रम सिर्जना हुने भएकाले यस्ता गतिविधिप्रति गम्भीर चासो व्यक्त गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले सबै सञ्चार माध्यमलाई आधिकारिक स्रोतबाट पुष्टि भएका तथ्यका आधारमा मात्र समाचार प्रकाशन तथा प्रसारण गर्न र अनुसन्धान नसकिँदासम्म अपुष्ट तथा भ्रामक सामग्री सम्प्रेषण नगर्न अनुरोध गरेको छ।

पर्सा प्रहरी निष्पक्ष, पारदर्शी र कानुनसम्मत अनुसन्धानप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै अनुसन्धान सम्पन्न भएपछि कानुनबमोजिम सार्वजनिक गर्न मिल्ने विवरण आधिकारिक रूपमा उपलब्ध गराइने जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *