पर्सामा साढे २३ लाख भन्दा बढीका अवैध सामान र सवारीसाधन बरामद

समाचार

वीरगञ्ज, साउन १८ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले दुई दिनको विशेष कारबाहीमा रु. २३ लाख ५८ हजार ९० बराबरका अवैध सामान तथा तिनको ओसारपसारमा प्रयोग भएका सवारीसाधन बरामद गरी भन्सार कार्यालयमा बुझाएको जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार २०८३ साउन १७ र १८ गते नं. १३ गण मुख्यालय पर्सा, सीमा सुरक्षा गुल्म मुख्यालय वीरगञ्ज, बी.ओ.पी. सिर्सिया तथा सीमा सुरक्षा गुल्म भिखमपुरबाट परिचालित टोलीहरूले विशेष सूचनाको आधारमा पर्साका विभिन्न सीमावर्ती क्षेत्रमा चेकजाँच तथा निगरानी सञ्चालन गरेका थिए।

कारबाहीका क्रममा भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेका कपडा, फलफूल, हार्डवेयर सामग्री, कम्प्युटरका CPU प्रोसेसर, मोटरसाइकलका पार्टपुर्जा, किराना तथा कस्मेटिक सामग्री, मदिरालगायतका सामान बरामद गरिएको छ। तिनको ओसारपसारमा प्रयोग भएका म्याजिक भ्यान, टाँगा र घोडा समेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

यो कारबाही वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोक, वडा नं. १६ इनर्वा र भगवा तथा वडा नं. १ छप्कैया लगायतका सीमावर्ती क्षेत्रमा गरिएको हो।

बरामद गरिएका सम्पूर्ण सामान तथा प्रयोग भएका सवारीसाधन आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सा मा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौला ले जानकारी दिएका छन्।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *