कपिलवस्तु, साउन १९ ।कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार शिवपुराबाट जगदिशपुरतर्फ जाँदै गरेको लु.प्र. ०१–००३ प १५६१ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–६ गोवरी निवासी २५ वर्षीय अक्षय श्रीवास्तव तथा पछाडि सवार २५ वर्षीय मुरेली यादव र २९ वर्षीय प्रतिक जैसवाल घाइते भएका थिए। घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल कपिलवस्तु लगिएकोमा चिकित्सकले साँझ ५:३५ बजे मुरेली यादवलाई मृत घोषणा गरेका हुन्।
गम्भीर घाइते प्रतिक जैसवाललाई थप उपचारका लागि साँझ ५:५५ बजे भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकल चालक अक्षय श्रीवास्तव भने घटनापछि फरार रहेकाले उनको खोजतलास जारी रहेको तथा दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
