पर्सा प्रहरीको अनुरोध डिजे साउण्ड नबजाउनु,अटेरी गरेमा कार्वाही गर्ने चेतावनी।

समाचार

रसीद आलम,बिरगंज ,२४ भदौ ।

जिल्ला प्रहरी कार्यालय पर्साले मानव स्वास्थ्य माथि प्रतिकूल असर पर्ने डिजे साउण्ड सिस्टम न बजाउन अनुरोध गरेको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी दिपक भारतीले सूचना जारी गर्दै डिजे साउण्ड सिस्टम नबजाउन जनसमुदायलाई आग्रह गरेको हो । बेवास्ता गर्नेलाई कडा कार्वाही गर्ने चेतावनी समेत दिइएको छ।

पर्सा  जिल्लाको सार्वजनिक सडक, बिद्यालय, सरकारी कार्यालय लगायत स्थानमा मानव स्वास्थमा जोखिम बढ्ने गरी डिजे साउण्ड सिस्टमबाट चर्को आवाजमा अभद्र उच्चश्रीङ्खल प्रकारको संगीत बजाएको देखिएको छ। त्यस्तो गीतको कारण सामाजिक तनाव, द्वन्दको अवस्था श्रृजना गरेको छ।यसले वातावरणलाई प्रदुषण गरेको छ । सामाजमा मानसिक तथा शारीरिक स्वास्थ्यमा समस्या उत्पन्न भएर झैझगडाको घटना बढेको, विद्यार्थीको पठनपाठन, सरकारी कार्यालयको कामकाजमा असर परेको र ध्वनि प्रदुषणले जनस्वास्थ्यमा प्रतिकूल असर परेको पटकपटक गुनासो आएको हुँदा डिजे साउण्ड सिस्टम न बजाउन प्रहरीले अनुरोध गरेको छ ।

डिजेको ध्वनिबाट महिला, पुरुष, वृद्ध वृद्धा, गर्भवती,बालबालिकाको स्वास्थमा समेत गम्भीर असर परेको हुँदा सबै सचेत रहन आग्रह गरिएको छ। आग्रहको बेवास्ता गरेको पाइएमा कानुन अनुसार डिजे सहितको सामान जफत गरी कडा कार्वाही गरिने छ।

“पर्सा जिल्ला भित्र हुने विभिन्न राजनैतिक तथा धार्मिक- सांस्कृतिक कार्यक्रम, चार्डपर्व, धार्मिक ऱ्याली, जुलुस, सम्मेलन, बैठक वा प्रचार प्रसारात्मक क्रियाकलाप गर्दा मानव स्वास्थ्यलाई नै असर पर्ने गरी डि.जे, स्पिकर, लाउड स्पिकरहरू ठुलो स्वरले बजाउने, आतिसवाजीहरू गर्ने जस्ता क्रियाकलापहरूले असुविधा पुग्न गएको हुँदा मिति २०८१।०५।२१ गते जिल्ला सुरक्षा समितिबाट त्यस्ता क्रियाकलापहरू नियन्त्रण गर्ने निर्णय भएको हुँदा यो सूचना प्रेसित गरिएको छ । यदी सूचनाको बर्खिलाप गरी यस्ता कार्यहरू गरेमा कानून बमोजिम कारवाही भई जाने व्यहोरा समेत जानकारी गराइन्छ ।”जिल्ला प्रहरी कार्यालय पर्साद्वारा जारी गरिएको प्रेस-विज्ञप्तीमा उल्लेख छ।

बाताबरण संरक्षण एन २०७६ को परिच्छेद ३ को दफा १५ को उप दफा १ बमोजिम डिजे बजाउने लाई  न्यूनतम ५ लाख देखि अधिकतम ५० लाखसम्म जरिवाना तथा क्षतिपूर्तिको कानुनी व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुंगेलले बताएका छन् ।

कानूनी व्यवस्था:-
• मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा ११२ मा वातावरण प्रदुषित गर्न नहुने भन्ने व्यवस्था र सोही दफाको उपदफा (२) मा अधिकार प्राप्त अधिकारीको इजाजत विना यान्त्रिक साधनबाट ध्वनी, रेडियोधर्मी विकिरण वा जोखिमपूर्ण फोहर मैलाको उत्पादन, प्रसारण ओसारपसार गर्न  वा थुपार्न नहुने र सोही दफाको उपदफा (४) मा यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

• वातावरण संरक्षण ऐन, २०७६ को परिच्छेद ३ को दफा १५ को उपदफा १ बमोजिम नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै सवारी साधन, यन्त्र, उपकरण, औद्योगिक प्रतिष्ठान, होटेल, रेष्टुरेन्ट वा अन्य स्थान वा मालवस्तु वा कुनै क्रियाकलापबाट हुने प्रदूषण नियन्त्रण गर्ने व्यवस्था रहेको र सो विपरित कार्य गर्नेलाई यसै ऐन बमोजिम न्युनतम ५ लाख रुपैया जरिवाना र क्षतिपुर्ति देखि अधिकतम ५० लाख सम्म जरिवाना तथा क्षतिपुर्ती भराउने कानुनी व्यवस्था रहेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *