रसीद आलम ,बारा,९ कार्तिक।
बारा जिल्ला प्रहरी कार्यालयले अवैध चाँदी ओसारपसारमा संलग्न दुई जनालाई शुक्रबार बिहान पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक त्रिभुवनलाल साहको नेतृत्वमा खटिएको टोलीले बारा जिल्ला जीतपुर सिमरा उपमहानगरपालिका-२१ स्थित अमलेखगन्ज नजिकै चेकजाँचको क्रममा दुईवटा मोटरसाइकलमा लुकाइ राखिएको १४ किलो अवैध चाँदी बरामद गरेको हो।
पक्राउ परेका मध्ये बारा प्रसौनी गाउँपालिका-६ निवासी वर्ष ३३ सन्तोष साह सोनारको मोटरसाइकलबाट ९ किलो चाँदी तथा जीतपुर सिमरा उपमहानगरपालिका-८ वर्ष २७ का सुरेश महतोको मोटरसाइकलबाट ५ किलो चाँदी फेला परेको छ। बरामद चाँदीको अनुमानित मूल्य २५ लाख ४ हजार ९ सय ५० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।
