बारा, ७ माघ।
सशस्त्र प्रहरी बल गण नम्बर १२ बारा अन्तर्गत सुरक्षा बेस जितपुरले लाखौं मूल्य बराबरको भन्सार छली गरिएका कपडाहरू बरामद गरेको छ।
डिएसपी प्रकाश चन्द्र भट्टको नेतृत्वमा खटिएको टोलीले चेकजाँचका क्रममा एक माइक्रोबसको सिटमुनि लुकाइ राखिएका कपडाहरू फेला पारेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

डिएसपी भट्टका अनुसार, उक्त माइक्रोबस वीरगञ्ज बसपार्कबाट हेटौंडा जाँदै गरेको अवस्थामा चेकजाँच गर्दा भन्सार छली गरिएका कपडाहरू बरामद भएका हुन्।
बरामद गरिएका सामग्रीहरूमा ४३ हजार २ सय रुपैयाँको सुटको कपडा, ८१ हजार रुपैयाँको साडी, ३२ हजार रुपैयाँको थानको कपडा, ९ हजार २ सय रुपैयाँको चोलोको कपडा र ३ हजार रुपैयाँको गम्छा रहेको सशस्त्र प्रहरीले जनाएको छ। यी सामग्रीहरूको कुल मूल्य १ लाख ६८ हजार ४ सय रुपैयाँ रहेको छ।
सशस्त्र प्रहरीले आवश्यक कानूनी कारबाहीका लागि बरामद सामग्रीहरू वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको जनाएको छ।
