बारा, फागुन १३ ।
इलाका प्रहरी कार्यालय अमलेखगंज, बाराको प्रहरी टोलीले १ किलो ७५० ग्राम अफिम जस्तो लागू औषधसहित एकजनालाई नियन्त्रणमा लिएको छ।
प्रहरी वरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका-२१, अमलेखगंज चोकमा हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा ६३ प ८२६२ नम्बरको २२० सिसी पल्सर मोटरसाइकललाई शंकास्पद रूपमा रोकी चेकजाँच गर्दा सिटमुनी लुकाइछिपाइ राखिएको अफिम जस्तो पदार्थ फेला पारेको हो।
प्रहरीले मकवानपुरको कैलाश गाउँपालिका-६, पकनी निवासी २१ वर्षीय रविन्द्र मोक्तानलाई पक्राउ गरेको छ। बरामद लागू औषध ३ वटा गोलामा प्याक गरिएको अवस्थामा भेटिएको छ।
प्रहरीले लागू औषध मुद्दामा बारा जिल्ला अदालत, कलैयाबाट १० दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।