काठमाडौं,२ असोज ।
भदौ २३ र २४ मा Generation Z (जेनजी) आन्दोलनका क्रममा राजधानीका विभिन्न स्थानमा भएको आगजनी, तोडफोड र लुटपाटपछि जिल्ला प्रहरी परिसर काठमाडौंले बिना बिल–बीजक सुनचाँदीका गरगहना खरीद–विक्री नगर्न सबैलाई आग्रह गरेको छ।
प्रहरीका अनुसार प्रदर्शनकारी समूहले सरकारी कार्यालय, बैंक, वित्तीय संस्था, व्यापारिक प्रतिष्ठान तथा निजी घरमा समेत आगजनी र तोडफोड गर्दै बहुमूल्य गरगहना चोरी गरेका विवरणहरू प्राप्त भएका छन्। चोरी गरिएका ती गरगहना राजधानीका सुनचाँदी पसलमा विक्री गर्न सक्ने आशंका रहेको हुँदा बिलबिनाको कारोबार नगर्न सूचना जारी गरिएको हो।
जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा सूचना अधिकारी प्र.उ. अपील राज बोहराले यस्ता आपराधिक कार्यमा संलग्न रहेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही हुने चेतावनी समेत दिएका छन्।
यस्ता सामानहरू प्राप्त भए वा जानकारी भएमा तत्काल प्रहरी कन्ट्रोल नम्बर १००, जिल्ला प्रहरी परिसर काठमाडौंको सम्पर्क नम्बर ९८५१२८३०१२ वा नजिकको प्रहरी कार्यालयमा खबर गर्न समेत अनुरोध गरिएको छ।
