पर्सा, २३ फागुन
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गतको कसूरमा संलग्न चार जना व्यक्तिलाई पर्सा जिल्ला अदालतको आदेशअनुसार कारागार चलान गरिएको पर्सा प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट मिति २०८१ माघ १७ गते र फागुन १ गते खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिकाका विभिन्न होटलहरूमा चेकजाँच गर्दा राम्रो आम्दानीको प्रलोभन देखाएर महिलाहरूलाई जबरजस्ती वेश्यावृत्तिमा संलग्न गराइएको फेला परेको थियो। सोही अभियोगमा पक्राउ परेका चार जनालाई अदालतमा पेश गरिएकोमा अदालतले मिति २०८१ फागुन १२ र फागुन २२ गतेको आदेशअनुसार पुर्पक्षका लागि वीरगञ्ज कारागार पठाउने निर्णय गरेको हो।
कारागार चलान गरिएका व्यक्ति निम्नानुसार छन्:
१. गिनीलाल गुप्ता, वीरगञ्ज महानगरपालिका–१६, पर्सा।
२. जय प्रकाश साह, ग्राम भवानीपुर–६, थाना नकरदेही, पूर्वी चम्पारण, बिहार, भारत।
३. सुक्राति चौधरी, भंगाहा नगरपालिका–२, टिकुलिया, महोत्तरी।
४. मिरा कुमारी महतो, जितपुर सिमरा उपमहानगरपालिका–१४, बारा।
प्रहरीका अनुसार होटलहरूमा भइरहेको यस्ता अवैध गतिविधिहरू नियन्त्रण गर्न चेकजाँचलाई थप कडाइ गरिनेछ।
