रौतहटमा १७ जना प्रतिवादी पक्राउ, तीन लाख बराबरको अवैध सामान बरामद

समाचार

रौतहट,२४ फागुन । जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत शुक्रबार थप १७ जनालाई पक्राउ गरेको छ।

विभिन्न अपराधमा दोषी ठहर भएर जिल्ला अदालत रौतहटबाट दण्ड सजाय तोकिए पनि लामो समयदेखि फरार रहेका १७ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो।

चेक अनादर, किर्ते जालसाजी, जुवा र नाता कायम मुद्दामा फरार रहेका दिनेशमान श्रेष्ठ, शेख अल्लाहुदिन, महमद हैदरअली, शेखरमान श्रेष्ठ, रामएकवाल चौधरी, नारायण प्रसाद घिमिरे, जुमराती अन्सारी, इदन खातुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले बताए।

त्यसैगरी अन्य पक्राउ पर्नेहरूमा रामाकृत प्रसाद गुप्ता, शेख रहामुल्ला, शेख ताहिद, राजिन्द्र चौधरी, सुनिता देवी, पृथ्वीनारायण महतो कोइरी, र सनेलाल भगत लगायत रहेको प्रवक्ता रायले जानकारी दिए।

रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा सञ्चालन गरिएको अभियान अन्तर्गत यस आर्थिक वर्षको साउनदेखि फागुन २२ गतेसम्म ८ सय भन्दाबढी फरार प्रतिवादीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको प्रहरीले जनाएको छ।

उता विभिन्न नाकाहुँदै भन्सार छलेर भित्र्याइएको दुई लाख ९० हजार २९० रुपैयाँ बराबरको लत्ताकपडा, किराना सामान, पाँच थान गाई र तीन वटा मोटरसाइकल बरामद गरी आवशयक कारबाहीको लागि बिहीबार साँझ जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *