पर्सा, फागुन २६ ।
सशस्त्र प्रहरी बल, पर्साले रु. ५८ लाख ६६ हजार ९२७ बराबरको हिरा तथा सुनका गरगहना बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ।
प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगञ्जबाट डिएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका-१६ स्थित भन्सार मेनगेटबाट नेपाल प्रवेश गर्दै गरेको सवारी साधन जाँच गर्ने क्रममा उक्त गहना फेला पारेको हो।
बरामद गरिएका गरगहनाहरू परीक्षणका लागि सुनचाँदी व्यवसायी संघ, पर्सामा पठाइएका थिए। परीक्षणपछि ती वस्तु हिरा र सुनका भएको पुष्टि भएको सशस्त्र प्रहरी बल, पर्साका प्रवक्ता डिएसपी नरेन्द्र सिंह धामीले जानकारी दिएका छन्।
बजार मूल्यअनुसार बरामद ७०.३७ क्यारेट हिराको मूल्य रु. २२ लाख ५१ हजार ८ सय ४० तथा २४६.७३ ग्राम सुनको मूल्य रु. ३६ लाख १५ हजार ०८७ रहेको छ। बरामद गरगहना वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको छ।

बरामद गरगहनाहरूको विवरण:
१. हिरा जडित सुनको बाला – १० थान
२. हिरा जडित सुनको ब्रासलेट – १ थान
३. सुनको नेक्लेसको सिक्री – ९ थान
४. हिरा जडित सुनको औँठी – ४ थान
५.हिरा जडित सुनको मंगलसूत्र – ४ थान
६. हिरा जडित सुनको लकेट – ६ थान
७. हिरा जडित सुनको टप – १८ थान
८. हिरा जडित सुनको नेक्लेस सेट – ९ थान
९. हिरा जडित सुनको नेक्लेस – २ थान
१०.हिरा जडित सुनको झुम्का -६ थान
सशस्त्र प्रहरीले सीमामा हुने अवैध गतिविधिहरू रोक्न कडाइ गरेको जनाएको छ।
