काठमाडौं, भदौ २४ ।काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले काठमाडौं महानगरपालिका क्षेत्रभित्र आज भदौ २४ गते विहान ८:३० बजेदेखि अर्को आदेश नआएसम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गरेका छन्।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी गरिएको आदेशअनुसार चक्रपथभित्रको सम्पूर्ण भू-भागमा मानिसहरूलाई आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।
कर्फ्यू आदेशअन्तर्गत वालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चावहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वाग्मती नदी पुलसम्मको क्षेत्र समेटिएको छ।
यद्यपि, अत्यावश्यक सेवामा प्रयोग हुने सवारी साधन, एम्बुलेन्स, दमकल, शववहान, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक, मानव अधिकारकर्मी, कुटनीतिक नियोगका सवारी साधन तथा हवाई टिकट देखाउने यात्रुको आवतजावतमा भने सुरक्षाकर्मीमार्फत सहजीकरण हुने उल्लेख गरिएको छ।
