निहत्था विद्यार्थीमाथिको दमन लोकतन्त्रको हत्या: नेविसंघ

समाचार

काठमाडौं, भदौ २४।हालै देशव्यापी रूपमा युवापुस्ताद्वारा (Gen-Z) आयोजित प्रदर्शनमा सरकारले गरेको दमनप्रति नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गम्भीर ध्यानाकर्षण जनाएको छ।

नेविसंघले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा हालसम्म बालबालिका र विद्यार्थीसहित १९ जनाको मृत्यु भएको र पत्रकारसहित कैयौं घाइते भएको घटनाले स्तब्ध भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “लोकतन्त्रमा सार्वभौम जनताले आफ्नो अधिकार प्राप्तिका लागि सडकमा उत्रिनु स्वाभाविक हो। तर सरकारको आदेशमा बख्तरबन्द हतियारधारी प्रहरीले निहत्था विद्यार्थीमाथि गोली चलाउनु लोकतन्त्रको हत्या हो।”

नेविसंघले यस घटनाको पूर्ण जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताउँदै तत्काल पदबाट राजीनामा दिन माग गरेको छ। साथै, शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउन घुसपैठ गर्ने जोसुकैलाई पनि कानूनी कारबाहीको दायरामा ल्याउन जोड दिएको छ।

विज्ञप्तिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप सशक्त बनाएर भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति व्यवहारमा कार्यान्वयन गर्नुपर्ने माग राखिएको छ। साथै, गृहमन्त्री, गृह प्रशासनका जिम्मेवार कर्मचारी तथा प्रहरी नेतृत्वको भूमिकाबारे छानबिन गरी आवश्यक कारबाही गर्न राष्ट्रिय मानव अधिकार आयोगलाई ध्यानाकर्षण गराइएको छ।

त्यस्तै, घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने नेविसंघको माग छ।

दुर्घटनामा परी ज्यान गुमाउने विद्यार्थी र नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै, मृतक परिवारलाई उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचार सुनिश्चित गर्न सरकारलाई आग्रह गरिएको छ।

नेविसंघले यसैबीच संयुक्त विद्यार्थी संगठनले यही भदौ २४ गते माइतिघर मण्डलामा आयोजना गर्न लागेको “विद्यार्थीमैत्री शिक्षा ऐन” सम्बन्धी विरोध कार्यक्रम हाल स्थगित गरिएको पनि नेपाल विद्यार्थी संघ, केन्द्रीय कार्यसमितिका अध्यक्ष दुजाङ शेर्पाद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाईएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *