बारा, चैत २।
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाका विभिन्न स्थानमा गरिएको बजार अनुगमनका क्रममा खसीको मासुमा बाख्राको मासु मिसाएर बिक्री-वितरण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा गरिएको अनुगमनका क्रममा मासुमा मिसावट गर्ने फ्रेश हाउस सञ्चालकहरूलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बारा प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, जितपुरसिमरा उपमहानगरपालिका-२ सिमरा चोकमा मासु पसल सञ्चालन गर्दै आएका ३१ वर्षीय शेख ओहानलाई १३ केजी बाख्रा र खसीको मासुसहित नियन्त्रणमा लिइएको छ। त्यस्तै, उपमहानगरपालिका-७ स्थित प्रवेश फ्रेश हाउसका सञ्चालक २५ वर्षीय रफिक देवान र मुस्कान फ्रेश हाउसका सञ्चालक १७ वर्षीय अहमुल्ला देवानलाई समेत नियन्त्रणमा लिइएको हो।
उनीहरूलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमरा, बारामा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बारा प्रहरीका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिएका छन्।