बारा, बेनौली १२ बैशाख ।
बैशाख ११ गते राति करिब १०:४५ बजे बारा जिल्ला अन्तर्गत देवताल गाउँपालिका–७ स्थित बेनौली चौकमा भएको एक आगलागीबाट तीन वटा व्यवसायमा ठूलो क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।
प्रहरीका अनुसार बिनोद साहको घर र गुम्ती पसल भाडामा लिएर सञ्चालन गरिएको ललन महतोको नास्ता पसलमा अचानक आगलागी भएको थियो। आगलागीले आसपासका अन्य गुम्ती पसलहरूमा समेत क्षति पुर्याएको छ। मानवीय तथा चौपायाको क्षति भने नभएको प्रहरीले जनाएको छ।
स्थानीय प्रहरी पोस्ट बेनौलीबाट प्रहरी सहाय निरीक्षकको कमाण्डमा खटिएको टोलीले दमकल, स्थानीयबासी तथा प्रहरीको सहयोगमा आगो राति ११:४० बजेतिर पूर्ण रूपमा नियन्त्रणमा लिएको हो।
आगलागीबाट भएको क्षतिको विवरण यसप्रकार छ:
१. ललन महतोको नास्ता पसल (देवतल गा.पा. ५) – ग्यास सिलिन्डर २ थान, ग्यास चुलो २ थान, अण्डा २ काटुन, बेन्च, टेवल, सिलिङ फ्यान, चिउरा, भुजिया, काठलगायत सामग्री गरी करिब रु. १,४८,००० बराबरको क्षति।
२. जमुन ठाकुरको सैलुन (देवतल गा.पा. ७) – सैलुन पूर्ण रूपमा जलेर करिब रु. ३०,००० बराबरको क्षति।
३. भोज मियाको मासु पसल – घुम्तीसहित मासु पसलका विभिन्न सामग्रीहरू जलेर करिब रु. ३५,००० बराबरको क्षति।
प्रहरीले आगलागीको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।
