पर्सा, जेठ १३।रसीद आलम
विशेष सूचनाको आधारमा पर्सा प्रहरीले भारतबाट चोरी पैठारी गरी भन्सार छली गरेर ल्याइएका अवैध औषधीसहित एक युवक र प्रयोग भएको पिकअप गाडीलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्ति बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ५ निवासी २४ वर्षीय सुनिल कुमार राम हुन्।
पर्सा जिल्ला अन्तर्गत विन्दवासिनी गाउँपालिका वडा नं. ४ स्थित मधवल सडकखण्डमा मिति २०८२ साल जेठ १२ गते दिउँसो करिब २:३० बजे प्रहरीको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.५ च २४८३ नम्बरको पिकअप गाडीलाई रोकि जाँच गरेको थियो। जाँचका क्रममा गाडीमा लोड गरिएका विभिन्न किसिमका औषधिहरूको कुनै पनि प्रकारको विधिवत बिलबिजक नदेखिएकोले ती औषधिहरू अवैध रूपमा ल्याइएको पुष्टि भएको थियो।
पक्राउ परेका सुनिल कुमार रामले ती औषधिहरू भारतबाट भन्सार छली गरी वीरगञ्जतर्फ ल्याइरहेका थिए। पक्राउ परेका राम, प्रयोग गरिएको गाडी तथा अन्दाजी रू. १२,७८,५२० बराबरको औषधिहरू बरामद गरी थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि सोही दिन वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिएका छन्।
प्रहरीका अनुसार, यस प्रकारका भन्सार छल्ने गैरकानुनी कार्यहरू रोक्नका लागि सीमावर्ती क्षेत्रमा निगरानी र गस्तीलाई थप कडाइ गरिएको छ। औषधि जस्तो संवेदनशील वस्तु अवैध रूपमा आयात हुँदा स्वास्थ्य सुरक्षामा गम्भीर जोखिम निम्तिन सक्ने भएकाले यस्ता कार्यमा संलग्न व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गरिने पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले चेतावनी दिएका छन् ।
