रसीद आलम ,बारा, १४ जेठ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण है.क्वा. पिलुवा, बाराको २४ औं स्थापना दिवस २०८२ को विशेष समारोहमा सशस्त्र प्रहरी बल मधेस प्रदेशका प्रमुख डिआईजी कृष्ण ढकालले सिमानाका सुरक्षा व्यवस्था कडाइ गर्दै तस्करीलगायतका अवैध गतिविधि पूर्ण रूपमा नियन्त्रण गर्ने दृढता व्यक्त गरेका छन्।
बारा जिल्लास्थित पिलुवा गण परिसरमा आयोजित विशेष समारोहमा बोल्दै डिआईजी ढकालले सशस्त्र प्रहरी बलले देशको सिमा सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे। उनले सीमावर्ती क्षेत्रमा भइरहेको तस्करी, मानव ओसारपसार, अवैध सामानको कारोबारजस्ता गतिविधिमाथि अब थप कडाइका साथ निगरानी र नियन्त्रण गरिने जानकारी दिए।
“देशको सिमा क्षेत्र सुरक्षित भए मात्र आन्तरिक सुरक्षा सुदृढ हुन्छ,” डिआईजी ढकालले भने, “त्यसैले हामी सशस्त्र प्रहरी बललाई अझ सक्षम, सजग र आधुनिक बनाउँदै तस्करीजस्ता अवैध गतिविधिहरूलाई पूर्णरूपमा नियन्त्रणमा ल्याउने योजनामा छौं।”
उनले हाल सीमावर्ती क्षेत्रमा प्रविधिको प्रयोग गरेर निगरानी प्रणाली सुदृढ पारिएको जानकारी दिँदै आगामी दिनमा थप आधुनिक उपकरण र तालिमका माध्यमबाट सुरक्षाकर्मीलाई दक्ष बनाउने प्रतिबद्धता जनाए।
डिआईजी ढकालले कार्यक्रममा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरूको सेवा, समर्पण र कर्तव्यनिष्ठाको प्रशंसा गर्दै स्थापना दिवसको अवसरमा सबैलाई बधाई र धन्यवाद दिए। साथै, उनले सुरक्षा क्षेत्रको सुधारका लागि नागरिक समाज, स्थानीय तह, अन्य सुरक्षा निकाय र सञ्चार माध्यमसँग सहकार्य गर्दै अघि बढ्न आवश्यक रहेको पनि बताए।
स्थापना दिवस समारोहमा बारा जिल्लाका विभिन्न सुरक्षा निकायका प्रमुखहरू, जनप्रतिनिधिहरू, स्थानीयबासी तथा पत्रकारहरूको समेत उपस्थिति थियो। कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमसहित सुरक्षाकर्मीहरूको मार्चपास, डेमो प्रदर्शन र विशेष सम्मान कार्यक्रम पनि सम्पन्न गरिएको थियो।
कार्यक्रमले सशस्त्र प्रहरी बलप्रति आम नागरिकको विश्वास बढाउने तथा सीमाको सुरक्षा सुदृढ गर्न थप प्रेरणा दिने अपेक्षा गरिएको छ।
